वराहक्षेत्रको कोका–कौशिकीमा मकर स्नानका लागि भक्तजनको उल्लेखनीय भिड
सुनसरी। वराहक्षेत्रको कोका कौशिकीको सङ्गममा मकर नुहाउने श्रद्धालुहरूको उल्लेखनीय रुपमा भिड बढेको छ ।

आज बिहीबार बिहान वराहक्षेत्र नगरपालिका वडा नं १ वराहक्षेत्र मन्दिर स्थित सप्तकोशी नदी र कोका खोलाको सङ्गममा मकर नुहाउने भक्तजनहरूको भिड लागेको हो ।
माघे सङ्क्रान्तिको अवसरमा मेला समेत लागेको वराहक्षेत्र मन्दिरमा मेला भर्न र मकर स्नान गर्न टाढा टाढाबाट भक्तजनहरू बुधवार साँझबाट नै वराहक्षेत्र मन्दिर आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
वराहक्षेत्र भगवानका सेवा प्रसिद्ध पण्डित योगेश भण्डारीका अनुसार माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिल्नेछ । उनका अनुसार यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र धन्य भइने मान्यता रहेको छ ।
शरीरमा भएका लुतो, खटिरा जस्ता रोगहरू हराएर जानेछन् भने शुद्ध मनले स्नान गरे वराह भगवानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास र किंवदन्ती समेत रहेको छ । त्यसकारण मेला भर्न, मकर स्नान गर्न नेपाल बाहिरबाट पनि तिर्थालुहरू आउने गर्दछन् ।
माघ १ गते वराहक्षेत्रधामको कोकाहा कौशिकीको सङ्गममा स्नान गर्न कोशी र मदेश प्रदेश लगायतका ठाउँबाट भक्तजन आएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले बताउनुभयाे ।
सनातन काल देखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदीहरूका सङ्गम स्थलहरूमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चारधाम मध्ये एक मानिएको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ ।
मकर स्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ सङ्क्रान्तिका दिन लाग्ने माघे मेलामा तरुल, सुठुनी, बदाम, सुन्तला जस्ता वराहक्षेत्रसँग जोडिएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले जानकारी दिनुभयाे ।






प्रतिक्रिया राख्नुहोस्