तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा यस वर्ष ३८ हजार मेट्रिक टन धान उत्पादन कम 

वीरगञ्ज । पर्सामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्साका अनुसार, जिल्लामा आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ मा ३८ हजार मेट्रिकटन धान उत्पादन कम भएको छ । 

चालू आर्थिक वर्षमा ढिलो रोपाइँ, औसत वर्षा नपुग्नु, कीरा तथा रोगको सङ्क्रमण, मल/सिँचाइ समस्या बाली भित्र्याउने बेला बेमौसमी वर्षा जस्ता कारणले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिएको छ ।

पर्सा जिल्लामा खेतीयोग्य जमिनमध्ये ९५ प्रतिशत क्षेत्रफलमा धान लगाइएको थियो । तर यस वर्ष उत्पादन १ लाख ८६ हजार २६३ मेट्रिक टन जति मात्र भएको थियो, जुन अघिल्लो आर्थिक वर्षको उत्पादनभन्दा कम रहेको छ । गत आर्थिक वर्षमा पर्सामा २ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले बताउनुभयो । 

धानखेती र उत्पादनमा यस वर्ष घटी हुनुका कारणहरू धेरै छन् । पर्सा लगायत तराई क्षेत्रमा समयमै पर्याप्त वर्षा नभएकोले रोपाइँ ढिलो भयो र बालीको वृद्धि प्रतिकूल भएको थियो । सिँचाइ व्यवस्थाको कमीले रोपाइँ क्षेत्र र उत्पादनमा धेरै प्रभाव पारेको थियो । 

यसैगरी, धानबालीमा कीरा तथा रोगजन्य सङ्क्रमण बढेको पाइएको छ, जसले उत्पादनमा क्षति पुर्याएको छ । समयमै रोपाइँ नहुनु, बीउको गुणस्तर, मल तथा उर्वरकको अपर्याप्त आपूर्ति र मौसम अनियमितताले उत्पादनमा गिरावट आएको हो ।

धान उत्पादन घट्दा स्थानीय किसानहरूको आम्दानी समेत घटेको छ ।  कम उत्पादनले बजारमा धानको उपलब्धता सँगसँगै मूल्यमा पनि उतारचढाव ल्याउन सक्छ । स्थानीय किसानले राम्रो बीउ, मल, सिँचाइ व्यवस्थापन, कृषि तालीम तथा बजार पहुँच जस्ता समस्याको सामना गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button