हिमालय आधारभूत विद्यालयमा किशोरीका लागि महिनावारी आरामकक्ष सञ्चालन
बाँके। बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित हिमालय आधारभूत विद्यालयमा किशोरीहरूका लागि महिनावारी आरामकक्ष सञ्चालनमा ल्याइएको छ ।
विद्यालय परिसरभित्र रहेको उक्त कक्षामा तीन वटा बिस्तारा, टेबुल–कुर्सी, पिउने पानी र आवश्यक सामग्रीको व्यवस्था गरिएको छ । विद्यालय समयमा महिनावारी हुँदा किशोरीलाई असहज नहोस् र पढाइ नछुटोस् भन्ने उद्देश्यले आरामकक्ष स्थापना गरिएको विद्यालयले जनाएको छ ।
राधाकृष्ण थारू जनसेवा केन्द्र, बर्दियाको सहयोगमा सञ्चालन भइरहेको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य परियोजनाअन्तर्गत सामग्री सहयोग प्राप्त भएपछि विद्यालयले यो पहल थालेको हो ।
महिनावारीका कारण विद्यालय छाड्नुपर्ने अवस्था अन्त्य गर्न बर्दियाका विभिन्न स्थानीय तहमा किशोरी आरामकक्ष स्थापना गर्ने अभियान अघि बढिरहेको छ । परियोजनाअन्तर्गत विद्यालयका साधारण कक्षालाई सुविधासम्पन्न बनाएर किशोरीमैत्री वातावरण तयार गरिएको छ ।
कक्षा ८ मा अध्ययनरत किशोरी सुनिताले आरामकक्षका कारण महिनावारीका बेला पनि पढाइ निरन्तर गर्न सहज भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुनीलकुमार थारूले परियोजना सुरु भएपछि किशोरीको विद्यालय छाड्ने दर घटेको जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाकी शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारीले आरामकक्षले किशोरीको उपस्थिती र पढाइमा निरन्तरता बढाएको बताउनुभयो । नगरपालिकाका वरिष्ठ लेखा अधिकृत सुदिप सिंह सुनारले यस्ता पहलले किशोरीको आत्मविश्वास र शैक्षिक निरन्तरतामा सहयोग पुगेको उल्लेख गर्नुभयो ।
कोइकाको आर्थिक सहयोग र प्लान इन्टरनेसनलको समन्वयमा राधाकृष्ण थारू जनसेवा केन्द्रले ठाकुरबाबा, मधुवन, गेरुवा, बारबर्दिया र गुलरिया नगरपालिकाका विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ ।
महिनावारीलाई सहज र सम्मानजनक बनाउने यस्ता प्रयासले विद्यालयलाई थप समावेशी बनाउँदै लगेको छ ।







प्रतिक्रिया राख्नुहोस्