तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएपछि सुरु गरेको तरकारी खेतीबाट विदेशको भन्दा दोब्बर आम्दानी

विराटनगर । विदेशमा गरेको दुख र अनुभवको उपयोग गर्दै मोरङ धनपालथान गाउँपालिका–१ नोचाका सञ्जय कुमार मण्डलले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ ।

रोजगारीका लागि  आठ वर्ष मलेसिया तथा साउदीमा काम गरेर फर्केका मण्डलले  दुई वर्ष देखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको हो  । गतवर्ष देखी सुरु गरेको तरकारी खेतीबाट  विदेशमा भन्दा दोब्बर आम्दानी  भएको उहाँको भनाई छ । 

गतवर्ष यही सिजनमा एक बिघा जग्गामा बन्दाकोबी लगा उदा त्यसबाट चार लाख रुपैयाँ आम्दानी गरेको उहाँले सुनाउनुभयो । एक लाख  लगानी गर्दा खर्च कटाएर चार लाख आम्दानी भएको र त्यो हेरेर  यो वर्ष पनि  एक बिघा जग्गामा  वन्दाकोवी खेती गरेका उहाँले बताउनुभयो ।

व्यापारीहरूले खेतमै आएर तरकारी खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको मण्डलको भनाई छ । उत्पादन हुने बित्तिकै व्यापारीहरूले खेतबाटै तरकारी उठाउने गरेको उहाँको भनाई छ ।

लामो समय रोजगारीका लागि विदेश बसेका मण्डल अहिले गाउँमा कृषि उद्यममा जोडिएका छन् । उहाँले  बन्दाकोबी सँगै च्याउ खेती समेत गर्दै आउनु भएको छ ।

तरकारी खेतीमा मेहनत कम र आम्दानी बढी हुने गरेकाले ‘विदेशमा गरेको दुःख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको उहाँको भनाई छ  । सात जनाको परिवार रहेका मण्डलले तरकारी खेती गरेर घर खर्च जुटाई रहनु भएको छ । 

तरकारी खेती गर्नु अघि च्याउ खेती  गर्दै आउनु भएका मण्डलले त्यस्तो आम्दानीबाट एउटा ट्र्याक्टर र खेतीका लागि जग्गा समेत जोड्नु भएको छ ।तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसलाई विस्तार गर्दै जाने योजनामा आफू रहेको उहाँले सुनाउनुभयो । 

‘स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने भएकाले कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

तरकारी खेतीमा जुटेका वास्तविक किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्न सके तरकारी खेतीप्रति युवाहरूको आकर्षण बढ्ने मण्डलको भनाई छ । 

यहाँका कतिपय ठाउँ भौगोलिक रूपमा तरकारी खेतीका लागि उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button