‘कोशी पर्यटन वर्ष २०८२’ प्रवर्द्धनका लागि कोशी–गण्डकी प्रदेशबीच ९ बुँदे समझदारी
पोखरा । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित कोशी प्रदेश र गण्डकी प्रदेशबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरामा सोमबार आयोजित अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा दुवै प्रदेशका पर्यटन मन्त्रीको उपस्थितिमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशबीच उक्त समझदारी भएको हो ।

समझदारी पत्रमा कोशी प्रदेशका तर्फबाट पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डा. इन्द्रप्रसाद सापकोटा र गण्डकी प्रदेशका तर्फबाट उद्योग तथा पर्यटन मन्त्रालयका नि.प्रदेश सचिव टीकाराम पौडेलले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली तथा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालसहित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
समझदारी अनुसार दुवै प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार विस्तार, पहुँच सुदृढीकरण, मानव संसाधन विकास र संस्थागत सहकार्यलाई मजबुत बनाइनेछ । विशेष गरी दुवै प्रदेशका सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी अन्तरप्रदेश भ्रमण कार्यक्रम सञ्चालन गर्ने तथा निजी क्षेत्रको सहभागितामा सुलभ पर्यटन प्याकेज विकासका लागि पहल गरिने समजदारीपत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि सम्बन्धित पर्यटन बोर्ड तथा निकायहरूमार्फत सहकार्य गर्ने, संयुक्त रूपमा पर्यटन दूत नियुक्त गर्ने तथा दुवै प्रदेशका होमस्टेहरूबिच भगिनी सम्बन्ध स्थापना गर्ने विषय पनि समझदारीमा समावेश गरिएको छ । समझदारी कार्यान्वयनलाई प्रभावकारी बनाउन ‘गण्डकी–कोशी पर्यटन प्रवर्द्धन समन्वय समिति’ गठन गरिनेछ । समितिमा दुवै प्रदेशका पर्यटन हेर्ने मन्त्री पालैपालो संयोजक रहनेछन् भने सम्बन्धित सचिवहरू, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक, पोखरा पर्यटन परिषद्का अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल पत्रकार महासङ्घका दुवै प्रदेश अध्यक्ष सदस्य रहनेछन् ।
यो समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्म लागू हुनेछ । आवश्यक परे दुवै पक्षको लिखित सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने विवाद आपसी छलफल र सहमतिका माध्यमबाट समाधान गरिने भएको छ ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ तथा २०८२/०८३ का नीति तथा कार्यक्रमअनुसार विक्रम संवत् २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ । यस अभियानमार्फत पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्दै राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याउने, स्थानीय तहमा रोजगारी सिर्जना गर्ने तथा प्रदेशको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्