प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गरिरहेको छः मन्त्री अग्रवाल

नेपालगञ्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनुभएको छ । सुरक्षा खबर डटकम अनलाइनको प्रथम वार्षिक उत्सव समारोहको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार सङ्घीय सरकार, निर्वाचन आयोग लगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गर्दै मर्यादित पत्रकारिताको लागि आफूले अपेक्षा गरेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी व्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिनुभयो । उहाँले प्रदेश सरकारले सुरक्षा निकायलाई वार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी समेत गर्नुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व अध्यक्षहरू रुद्र सुवेदी, निरज गौतमले सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्यमा जोड दिनुभएको थियो ।
सो अवसरमा अपराध अनुसन्धान र मानवीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका विभिन्न दर्जाको व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का, सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी नायब निरीक्षक प्रवीण डिसी, लागुऔषध नियन्त्रण ब्यूरो प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही, सशस्त्र प्रहरी शम्शेरगञ्जस्थित सशस्त्र प्रहरीका गोताखोरहरु मोहन बिष्ट, रोशन केसी, प्रमेश्वर थारु, ट्राफिक प्रहरी प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल, प्रहरी नायब निरीक्षक रवीन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी, सहायक हवल्दार पूर्ण बिसी र प्याब्सन बाँके अध्यक्ष बिकास बज्राचार्य रहनुभएको छ ।
सुरक्षा खबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन विनोद गौतमले गर्नुभएको थियो । वार्षिकोत्सवमा सम्मानित भएका सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बाँकेको राप्तीसोनारीस्थित जय बागेश्वरी बाल संरक्षण केन्द्रलाई रु। १० हजार सहयोग गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्