गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ ।
पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति हो ।
भोजपुरको चरम्बिमा जन्मिनुभएका ढकालले शिक्षण पेसाबाट करिअर सुरु गरी करिब ३५ वर्ष निजामती सेवामार्फत राष्ट्रसेवा गर्नुभएको थियो । एल्बममार्फत उहाँले आफ्ना सिर्जनात्मक सपनाको औपचारिक सुरुवात गर्नुभएको हो ।
एल्बमकी प्रस्तुतकर्ता ढकालकी श्रीमती हिरादेवी ढकाल रहनुभएको छ । कार्यक्रममा उहाँले गीतकार ढकालको साहित्यिक तथा सङ्गीत यात्राको सफलताको कामना गर्नुभयो । एल्बमको सम्पूर्ण सङ्गीत शक्ति बल्लभले दिनुभएको छ ।
एल्बममा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, सुमित खड्का र रचना रिमालको स्वरमा पाँच वटा गीत समावेश छन् । लोकार्पण कार्यक्रममा कवि तथा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, कवि तथा गीतकार एवं नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइराला, पूर्वमन्त्री टङ्क ढकाललगायतको उपस्थिति थियो ।
पूर्वमन्त्री टङ्क ढकालले नेपाली साहित्य र प्रतिभाको विकास आवश्यक रहेको उल्लेख गर्दै ‘हिमाली सुस्केरा’ले साहित्यिक इतिहासमा अर्को इँटा थपेको बताउनुभयो । सरल शब्द र लोक लवजको लेखाइ प्रयोग गरिएको लेखाइले देश, प्रकृति र बिकास प्रेम झल्किने सङ्गीतकार बल्लभले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्