तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता भएको र सरकारको सम्पूर्ण प्रयास कोरोना भाइरसमुक्त मुलुक बनाउनु रहेकोमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदहरुबाट प्राप्त सुझावहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको र औचित्यका आधारमा सकारात्मक सुझावहरु बजेटमा समाबेश गरिने प्रष्ट पार्नुभएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको आज जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाका कारण आज मुलुक असहज र असामान्य अवस्थामा रहेको र मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो ।

उहाँले,कोरोनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारे पनि सरकार हातखुट्टा उठाएर नबसी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट हतोत्साही र निराश नहुन र यससँगै लड्दै समाजिक जनजीवन अघि बढाउन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले कोरोना भाइरसले विश्व हल्लाएको र मानव जातिको अस्तित्वमा खतरा उत्पन्न गरेको उल्लेख गर्नुहुँदै कोरोनाविरुद्धको सरकारको प्रयासमा सिङ्गो राष्ट्र एक हुनुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाको बेलामा पनि राजनीति गर्न खोज्ने र सरकारको असफलता देखाउन खोज्ने प्रवृति देखिए पनि जनताबाट सरकारको प्रयासमा ठूलो समर्थन प्राप्त भएको बताउनुभयो ।

प्रधानमन्त्रीले कोरोनाको प्रवृतिसँगै हाम्रा आनीबानी र प्रवृतिमा पनि परिवर्तन आवश्यक भएको र सो अनुरुप नै सामाजिक जीवन अघि बढाउन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतबाट सङ्क्रमित भएर आउनेको संख्या ठूलो भएकोले अवस्था गम्भीर भएकोले त्यसप्रति सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्वारेन्टिनलाई प्रभावकारी बनाउँदै भरपर्दो परीक्षणको व्यबस्था मिलाउन सरकारको थप प्रयास जारी रहेको बताउनुभयो ।

अहिलेसम्म ५७ हजार ९०४ जनालाई राख्न सकिने क्वारेन्टाइनको क्षमता रहेको, त्यसमध्ये ३० हजार गुणस्तरीय र २३ हजार उपयुक्तखालको रहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।

प्रधानमन्त्रीले आइसोलेसनको क्षमता तीन हजार तीन सय सात रहेको र हालसम्म तीन सय ९६ जना आइसोलेसनमा रहेको, एक लाख दुई हजार ८३ जनाको कोरोना परीक्षण भएको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले सदनमा जवाफ दिइरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button