तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रपुर नगरपालिकाको नगरसभा अधिवेशन सम्पन्न

रौतहट । चन्द्रपुर नगरपालिकाको १६औँ हिउँदे नगरसभा अधिवेशन सम्पन्न भएको छ। 

शुक्रबार चन्द्रपुरस्थित गोल्डेन ब्यान्क्वेटमा नगरपालिकाको आगामी नीति, कार्यक्रम तथा विकास योजनामाथि छलफल र निर्णय गर्ने उद्देश्यले आयोजना गरिएको अधिवेशनमा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको  उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन विघटित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख तथा सभाध्यक्ष सञ्जय काफ्ले र नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै देवप्रसाद तिमल्सिनाले स्थानीय तहले जनताको जीवनस्तर सुधारमा केन्द्रित भई प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । विकास निर्माण, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढेमा मात्र समृद्ध नगर निर्माण सम्भव हुने उहाँको भनाइ थियो ।

सभाध्यक्ष तथा नगर प्रमुख सञ्जय काफ्लेले अधिवेशनको उद्देश्य र कार्यसूचीबारे जानकारी गराउँदै नगरपालिकाले हालसम्म हासिल गरेका उपलब्धि तथा आगामी योजना र कार्यक्रमहरू प्रस्तुत गर्नुभयो । नगर सभालाई व्यवस्थित, समुन्नत र समावेशी नगर निर्माणको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष संजय कार्की र महासङ्घका पूर्व केन्द्रीय सदस्य शिव पुरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उहाँहरूले नगर सभामार्फत पारित हुने नीति तथा कार्यक्रमहरू जनमुखी, व्यवहारिक र दीर्घकालीन हुनुपर्नेमा जोड दिँदै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button