तपाईँ सुन्दै हुनुहुन्छः

गोलभेँडाको मूल्य वृद्धिसँगै कृषक उत्साहित

रौतहट । गोलभेँडाले उचित मूल्य पाउन थालेपछि रौतहटका कृषकहरू उत्साहित भएका छन् । पछिल्लो समय गोलभेँडाको मूल्यमा वृद्धि हुँदा कृषकहरूले उत्पादन बिक्री गर्न उत्साहित देखिन्छ ।

यसअघि गोलभेँडाले उचित मूल्य नपाउँदा कृषकहरूले आफ्नो उत्पादन सडकमै फाल्न बाध्य  हुने अवस्थासमेत देखिँदै आएको थियो । तर अहिले बजारमा मूल्य बढेसँगै कृषकहरू हर्षित बनेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा बुधबार गोलभेँडा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भएको स्थानीय तरकारी व्यापारीहरूले बताएका छन् । भारतबाट गोलभेँडा आयात नहुँदा र नेपालबाट भारततर्फ निर्यात भइरहेकाले मूल्य दिनप्रतिदिन बढ्दै गएको तरकारी व्यापारीहरूको भनाइ छ । गत वर्ष यो महिना गोलभेँडाको मूल्य ४० देखि ५० रुपैयाँसम्म मात्र रहेकोमा हाल जिल्लाका विभिन्न स्थानमा कृषकहरूले घरबाटै होलसेलमा प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्ममा गोलभेँडा बिक्री गर्न पाएका छन् । यो मूल्य किसानका लागि सन्तोषजनक रहेको वृन्दावन नगरपालिका–१ का कृषक बुध राउतले बताउनुभयो । उहाँले सात हजार गोलभेँडाका बोट लगाउनुभएको छ भने दैनिक साढे दुईदेखि तीन क्विन्टलभन्दा बढी उत्पादन हुँदै आएको छ ।

राउतजस्तै गोलभेँडा उत्पादन गर्ने अन्य कृषकहरू पनि मूल्य बढेपछि खुसी भएका छन् । गोलभेँडाको मूल्य वृद्धि हुँदा यस वर्ष सोचभन्दा बढी आम्दानी गर्न सफल भएको अर्का कृषक पङ्खी मुखियाले बताउनुभयो ।

बजारमा मूल्य अनुकूल भएपछि गोलभेँडा खेतीतर्फ कृषकहरूको आकर्षण बढ्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button