ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै सफाइ
काठमाडौँ । विशेष अदालत काठमाडौँले महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहितलाई सबैलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ हुने फैसला गरेको हो ।
फैसलामा भनिएको छ, “आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दाबीबाट सफाई पाउने ठहर्छ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको जिकिर थियो ।
फैसलामा भनिएको छ, “प्राविधिक प्रस्तावमै अनुत्तीर्ण भएपश्चात् आर्थिक प्रस्तावमा कबुल गरिएको अङ्कका बारेमा मूल्याङ्कन समिति तथा निर्णय गर्ने अधिकारीलाई जानकारी हुन नसक्ने अवस्थामा कम अङ्क कबोल गर्ने बोलपत्रदातालाई बाहेक गरी बढी अङ्क कबोल गर्ने बोलपत्रदातासँग सम्झौता गरी रकम हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको भनी मान्न सकिने अवस्था पनि देखिएन ।” रासस






प्रतिक्रिया राख्नुहोस्