दोलालघाट–चर्नावती सुरुङमार्ग अध्ययनको लागि परामर्श सुरु

दोलखा । सरकारले काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटबाट दोलखाको चर्नावतीसम्म सुरुङमार्ग निर्माणको लागि चालु आर्थिक बर्ष सम्भाव्यता अध्ययनमा ४५ लाख रुपैयाँ छुट्टाएको छ ।
दोलालघाट–चर्नावती सुरुङमार्गको लागि सम्भाव्यता अध्ययनमा सरकारले चालु आर्थिक बर्ष ४५ लाख रकम छुट्टाएकोले अहिले त्यस सम्बन्धि परामर्शको काम भइरहेको सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दिप बाराहीले बताउनुभयो ।
परामर्शको काम सकेर भौतिक पूर्वाधार मन्त्रालयसँग अनुमति लिएर चाँडै नै सम्भाव्यता अध्ययन सुरु गरिने उहाँले बताउनुभयो ।
दोलालघाट–चर्नावती सुरुङमार्ग करिब ३० किलोमिटरको हुने र यसको लागत निक्कै बढी निस्कने भएकोले सम्भाव्यता अध्ययनपछि निर्माण कार्य कहिले सुरु हुन्छ भन्नेबारे भने कतैबाट पनि स्पष्ट जवाफ आउन सकेको छैन ।
दोलखाकै लामा बगर लप्ची सडक खण्डको लप्चीगाउँ– लप्चीखोला (देउराली) सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको निक्कै बर्ष बितिसक्दा पनि सुरुङमार्ग निर्माणको काम भने सुरु हुन सकेको छैन । आर्थिक बर्ष २०७६÷०७७ मा सरकारले लामा बगर सडक सुरुङमार्गको नाममा सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको थियो ।
त्यसपछि लप्चीगाउँ– लप्चीखोला (देउराली) सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको थियो । सो अनुसार दुईवटा विकल्पमा अध्ययन गरी प्रतिवेदन प्राप्त भएको सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक बाराहीले जानकारी दिनुभयो ।
पहिलो विकल्पमा ३.५९८ किलोमिटरको सुरुङ निर्माण गर्ने र त्यसको लागत करिब नौ अरब ५५ करोड रहेको निर्देशक बाराहीले जानकारी दिनुभयो । दोस्रो विकल्पमा १.४५१ किलोमिटर सुरुङ निर्माण गर्ने र त्यसको लागत करिब चार अरब ४९ करोड रहेको निर्देशक बाराहीले जानकारी दिनुभयो । दुई विकल्प मध्य १.४५१ किलोमिटर सुरुङ निर्माण गर्ने विकल्प ठिक हुने सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निष्कर्ष रहेको निर्देशक बाराहीले बताउनुभयो ।
चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय सडकको लामा बगर लप्ची खण्ड अन्तर्गत घोडामुतेमा यसअघि नासा हाइड्रो पावरको सक्रियतामा ११ सय मिटर सुरुङमार्ग निर्माण भई सञ्चालनमा रहेको छ । यो सडक खण्डको देउरालीमा पटक– पटक सुख्खा पहिरो जाने भएकोले सम्भाव्यता अध्ययन सकिएको लप्चीगाउँ– लप्चीखोला सुरुङमार्ग तत्काल सुरु गर्नुपर्ने स्थानीयको माग छ ।
लप्चीगाउँ– लप्चीखोला सुरुङमार्ग निर्माण गरी बुङ्नीसम्म पुगेको सडकलाई करिब दुई किलोमिटर तन्काउन सकियो भने नेपाल– चीन सिमानाको लामाबगरस्थित फलाक नाका (६१ नम्बरको पिलर) जोडिने स्थानीय बताउँछन् ।
डिभिजन सडक कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारी नेपाल–चीन जोडने फलाक नाकासम्म सडक विस्तार गर्न सरकारले प्राथमिकतामा राखेको बताउनुहुन्छ ।
दोलखाको सिंगटीबाट लामा बगर जोड्ने सडकको काभ्रेभीर खण्डमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरेको ३३७ मिटर लामो सुरुङमार्ग पनि सञ्चालनमा रहेको छ । २०७२ सालको भूकम्पले काभ्रेभीर सडक खण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले यो सुरुङमार्ग निर्माण गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्