तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा वैधानिक र कञ्चनपुरमा अवैधानिक बाटो भएर नेपालीहरु भित्रिदैँ

कञ्चनपुर । रोजगारी तथा अध्ययनका लागि भारत गई कोरोना भाइरस संक्रमणको त्रासले नेपाल फर्किने नेपालीहरु सीमा क्षेत्रमा गरिएको कडाइ र लकडाउनका कारण भारतमै अलपत्र परेका छन् । ती मध्ये केही डेढ महिना पहिले देखि सीमा नजिक भारतीय क्वारेन्टाइनमा बसेका थिए भने केही कार्यक्षेत्रबाट हालै नेपाल फर्किरहेका छन् । सीमा नजिक पुगेका नेपाली नागरिकहरु मध्ये पश्चिम नेपालको कैलालीमा बैधानिक रुपमा नेपाल प्रवेश गराउने क्रम जारी छ भने कञ्चनपुरमा अबैधानिक बाटो भएर नेपालीहरु भित्रिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीको सकृयतामा कैलाली र कञ्चनपुरसंग सीमा जोडिएको नेपाल भारत सीमा नाका गौरीफन्टाबाट शुक्रबारयता ७५८ जनालाई नेपाल प्रवेश गराइएको छ । यसैक्रममा ९५० जना भारतीय नागरिकहरुलाई नेपालबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभएको छ । गौरीफन्टा नाकाबाट भित्रिने नेपाली नागरिकहरुको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सीमा क्षेत्रमै कोरोना परीक्षण गर्ने व्यवस्था गरेको छ । उहाँहरुलाई सम्बन्धित पालिकासंग समन्वय गरी पालिका भित्रका क्वारेनटाइनमा राख्ने गरी पठाउने क्रम जारी रहेको बताइएको छ ।

यता कञ्चनपुरको पश्चिमी सीमा नजिक भारतको बनवासा, टनकपुर, रुद्रपुर, काशीपुर र खटिमा स्थित क्वारेन्टाइनमा झण्डै डेढ महिनासम्म बसेका २४२ जना नेपाली नागरिकहरुलाई वैधानिक रुपमा नेपाल भित्र्याई सम्बन्धित पालिकाको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो । तर पछिल्लो समय भारतले सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनमा नेपाली नागरिकहरुलाई राख्न छोडेपछि सीमा बडरसम्म पुगेका नेपाली नागरिकहरु अवैधानिक बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहुले बताउनु भयो । कञ्चनपुरको पश्चिमी सीमा क्षेत्रबाट महाकाली नदि तरेरै भएपनि सीमा वारी आउने क्रम जारी छ । उहाँहरुमध्ये केहीलाई कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माविको क्वारेन्टाइनमा राखी चेकजाँचको काम भइरहेको छ भने अधिकांश व्यक्तिहरुलाई महाकाली नदि पारीको एकमात्रै स्थानीय तह माहाकाली नगरपालिकाको भारतसंग सीमा जोडिएको दशगजा क्षेत्रमा त्रिपाल मुनी राखिएको छ । यसरी अवैधानिक बाटो भएर नेपाल भित्रिने व्यक्तिहरुका कारण पनि कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकोले प्रवासमा रहेका नेपाली नागरिकहरुको बारेमा नीतिगत निर्णय गरी व्यवस्थित तरिकाले नेपाल भित्र्याउने कार्य गरिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button