तपाईँ सुन्दै हुनुहुन्छः

सीमावर्ती क्वारेन्टाइनमा रहेका नेपालीहरु डेढ महिनापछि नेपाली भूमिमा 

कञ्चनपुर । पश्चिम नेपालको सीमा क्षेत्र नजिक भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकहरुलाई डेढ महिना भन्दा लामो समयपछि नेपाल प्रवेश गराइएको छ ।

कञ्चनपुरको पुनर्वास ११ डोकेबजार संग सीमा जोडिएको नेपाल भारत सीमा नाका गौरीफन्टाबाट शुक्रबार नेपाल प्रवेश गराइएका पलिया क्वारेन्टाइनमा रहेका कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८, बझाङका ३, डोटीका ३, दैलेखका २, सिन्धुलीका २ जना र कास्की र रौतहटका एकएक गरी एक सय ८० जना रहेका छन् ।

यसका अतिरिक्त निघासन, लखिमपुर लगायतका स्थानमा क्वारेन्टाइनमा रहेका नेपाली नागरिकहरु समेत गरी शुक्रबार जम्मा ३ सय ८५ जनालाई नेपाल प्रवेश गराइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । यसैक्रममा ४३२ जना भारतीय नागरिकहरुलाई नेपालबाट भारत पठाइएको छ ।

त्यस्तै, भारतको रामपुर क्वारेन्टाइनमा रहेका बझाङका ९५ जनालाई पनि शनीबार नेपाल प्रवेश गराइएको छ । शुक्रबार नेपाल प्रवेश गराइएका मध्ये कञ्चनपुरको पुनर्वासका १ जना महिला, २ जना बालक तथा १५ जना पुरुषहरु गरी जम्मा १८ जनालाई पुनर्वास नगरपालिकाको टोलीले जिम्मा लिई पुनर्वासकै क्वारेन्टाइनमा राखेको नगर उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट हालै भित्र्याइएका नगरवासीहरुलाई पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राखिएको छ । शुक्रबार मात्रै राष्ट्रिय माविमा नयाँ क्वारेन्टाइन स्थापित गरिएको उपप्रमुख बिष्टले बताउनु भयो ।

त्यस्तै, धनगढीमा रहेका अन्य नागरिकहरुलाई विभिन्न जिल्लाका सम्बन्धित स्थानीय तहहरु संग समन्वय गरी पठाउने क्रम जारी रहेको बताइएको छ ।

सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल भित्र्याउने क्रममा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सीमा क्षेत्रमै कोरोना परीक्षण गर्ने व्यवस्था गरेर मात्रै नेपाल भित्र्याइएको सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अब सम्बन्धित पालिकासंग समन्वय गरी पालिका भित्रका क्वारेनटाइनमा राख्ने गरी प्रकृया शुरु गरिएको छ ।

रोजगारी तथा अध्ययनको सिलसिलामा भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिकहरु कोरोना भाइरसको संक्रमणको त्रासले घर फर्किने क्रममा नेपाली सीमा नजिक पुगेका थिए । तर करीब डेढ महिना भन्दा लामो समययता उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि कञ्चनपुरको सीमा नजिक भारतको बनवासा, टनकपुर, रुद्रपुर, काशीपुर र खटिमा स्थित क्वारेन्टाइनमा झण्डै डेढ महिनासम्म बसेका २४२ जना नेपाली नागरिकहरुलाई आइतबार र सोमबार नेपाल भित्र्याई सम्बन्धित पालिकाको जिम्मा लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

भारतीय क्वारेन्टाइनमा रहेका अधिकांश नेपालीहरुलाई भारतीय प्रशासनले आफ्नो देश जाउ भन्दै क्वारेन्टाइनबाट निष्काशन गरेपछि उनीहरु केही दिन पुनः अलपत्र परेका थिए । परिस्थिति जोखिमपूर्ण देखिएपछि अन्ततः उनीहरुलाई नेपाल भित्र्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button