अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा
सुनसरी । नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले आज धरानमा पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको सातौँ संस्करण सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
डिआइजिपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायुले बताउनुभयो ।
यस वर्ष प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले रु ८१ हजार पाँच, उपविजेताले रु ४१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई जनही रु दुई हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले रु एक हजार पाँच, मेडल र प्रमाणपत्र पाउने छन् भने, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराइने संयोजक हायुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्