पत्रकार महिलाका लागि संसदमा खोजपत्रकारिता तालिम सुरु
काठमाडौँ । पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङसम्बन्धी तीन दिने तालिम आजबाट सुरु भएको छ ।

युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्लु डब्लुजे (WWJ)ले काठमाडौँमा सुरु गरेको तालिममा सहभागी ३० जना महिला पत्रकारलाई संसदीय प्रणालीमा खोजमूलक समाचार सङ्कलनको थप सीप सिकाइने डब्लु डब्लुजेका केन्द्रीय अध्यक्ष रामकला खड्काले जानकारी दिनुभयो ।
मुलुकको कानून निर्माणको महत्वपूर्ण थलो मानिने संसद्को समाचार लेख्ने पत्रकार महिलाहरूको सङ्ख्या कम भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले संसदीय गतिविधिका खोजमूलक समाचार लेख्न पत्रकार महिलालाई प्रोत्साहन हुने पनि अध्यक्ष खड्काले बताउनुभयो ।
तालिममा संसदीय रिपोर्टिङमा लामो अनुभव भएका शिव गाउँले, राजेन्द्र फुयाँल, डा. जगत नेपाल, नम्रता शर्मा र नरेन्द्र साउद स्रोत व्यक्तिका रुपमा रहनुभएको छ ।
त्यसैगरी पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् अधिवक्ता रेखा शर्माले पनि संसद्मा हुने लैङ्गिक टिप्पणी तथा व्यवहारले महिला सांसदलाई पार्ने प्रभाव, दलगत ह्विप र सांसदको स्वतन्त्रता, महिला सांसदको सञ्चार माध्यममा उपस्थितिलगायतका विषयमा अनुभवसहित प्रस्तुति गर्नुहुनेछ ।

तालिममा संसद्को रिपोर्टिङ गर्दै आएका नयाँ पुराना पत्रकार महिलालाई सहभागी गराइएको डब्लु डब्लुजेकी सचिव रुक्मिणी पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्