तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारहरू सम्मानित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारहरूलाई सम्मान गर्नुभयो । 

कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ–कान्तिपुर टेलिभिजन, उमेश कार्की–नेपाल प्रेस, तथा दीपेन्द्र ढुङ्गाना – नयाँ पत्रिकालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सूचना तथा सञ्चार प्रविधि जगदीश खरेलले विभिन्न आन्दोलन लगायतका कार्यक्रमहरूमा अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकार, आन्दोलनरत पक्ष वा आयोजक तथा सञ्चार गृह जिम्मेवार र उत्तरदायी  हुनु पर्ने आवश्यकता औँल्याउनुभयाे । 

मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारहरूको उपचार खर्च राज्यले बेर्होछ भन्नुहुँदै सरकारले पत्रकारको कामको सम्मान गर्ने शुरुवात गरेको बताउनु भयो । जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब ७८ करोडको क्षति भएको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री खरेलले त्यसको पुनर्स्थापना कसरी गर्ने भन्नेमा आफू चिन्तित रहेको बताउनुभयो । 

बिहीबारदेखि सरकारले गोरखापत्र संस्थानका पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन शुरु भएको उल्लेख गर्दै मन्त्री खरेलले छिट्टै रेडियो नेपाल नेपाल, नेपाल टेलिभिजन तथा रासस लगायतका निकायका पत्रकारहरूलाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने बताउनुभयो ।

मन्त्री खरेलले नीजि क्षेत्रका सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा समेट्ने गरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारहरूको रोजगारीको व्यवस्था गर्ने गरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै प्रसन्नता प्रकट गर्नुभयो । 

कार्यक्रममा घाइते पत्रकारहरूले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारहरूको सुरक्षाको लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आवद्ध गर्नुपर्ने तथा घाइते पत्रकारहरूलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका उच्च पदाधिकारीहरू तथा नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरू तथा सञ्चार क्षेत्रका विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button