तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पनि कर सप्ताह मनाउन सुरु, पहिलो दिनमा प्रभातफेरी

पोखरा । कर तिर्नु नागरिकको दायित्व मात्रै होइन, सुशासन र समृद्धिको आधार पनि हो भन्ने सन्देशसहित पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाउन सुरु गरिएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले मङ्गलवार बिहान प्रभातफेरी आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको हो ।

‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरी पोखरा सभागृहबाट सुरु भएको थियो । सृजनाचोक, रत्नचोक, वाई चोक, राष्ट्र बैङ्क चोक हुँदै सहिदचोकबाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालय पुगेर प्रभातफेरी समापन गरिएको थियो ।

प्रभातफेरीमा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्, नेपाल निर्माण व्यवसायी सङ्घ कास्की, पोखरा चेम्बर अफ कमर्स, महिला उद्यमी सङ्घ नेपाल कास्की लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू प्लेकार्डसहित सहभागी भएका थिए ।

कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले मङ्सिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दैछ । कर प्रणालीबारे नागरिकलाई जानकारी गराउने, करदातामा सचेतना बढाउने, कर सहभागिता विस्तार गर्ने तथा कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

सप्ताहअन्तर्गत मङ्सिर २ देखि ६ गतेसम्म पोखराका विभिन्न स्थानमा वस्तुगत सङ्घसंस्थाका प्रतिनिधिसँग करसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रममार्फत करदाताका दायित्व, कर प्रणालीका व्यवस्था र कर सहभागिताका विषयमा जानकारी दिइने कार्यालयले जनाएको छ ।

त्यस्तै, मङ्सिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ । सप्ताहको अन्तिम दिन मङ्सिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा विशेष समारोह आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा कास्कीबाट सेवा तथा अन्य वस्तुगत क्षेत्रका दुई जना र स्याङ्जाबाट एक जना गरी तीन जना करदातालाई सम्मान गर्ने तयारी गरिएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

यसैबीच, आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्म निर्धारित लक्ष्यको १०३.६६ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

प्रमुख कर अधिकृत ढुङ्गानाका अनुसार उक्त अवधिमा १ अर्ब ९६ करोड ४५ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ३ करोड ६५ लाख २९ हजार रुपैयाँ सङ्कलन भएको छ । यो निर्धारित लक्ष्यभन्दा ७ करोड १९ लाख ५० हजार रुपैयाँ बढी हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button