क्वारेन्टाइनबाट १ हजार १ सय १२ जना घर फर्किए
जुम्ला । जारी लकडाउन बीच भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट ११ हजार ३६ जना नागरिक जुम्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएर क्वारेन्टाईन बसेका मध्य हाल सम्म १ हजार १ सय १२ जना १४ दिन पुरा गरी घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयद्धारा नियमित सार्वजानिक हुने प्रतिबेदन अनुसार शुक्रबार सम्म एक हजार एक सय १२ जना जना घर फर्किएका हुन् । एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका चार सय ६ बेडको क्वारेन्टाईनमा अहिले ९ जना मात्रै बसेका छन् ।
जसमा तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र पातारासी गाउँपालिकाको क्वारेन्टाईनमा ३ जना गरी ९ जना मात्रै जुम्लामा क्वारेन्टाईनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनु भयो ।
क्वारेन्टाईन बसी १४ दिन पुरा भएकाहरुको र्यापिट डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
जुम्लामा हाल सम्म एक हजार दुई सय ६३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण तथा दुई सय ६१ जनाको आरडिटी चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गएको आईतबार जुम्लामा मेडिकल मार्च नै सञ्चालन गरी एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको थियो ।
कर्णालीमा हाल सम्म कोरोना संक्रमण नभेटिएपनि पुर्वतयारी तथा कोरोना रोकथाम तथा नियन्त्रणबा लागि विभिन्न कामहरु भईरहेका छन् । कर्णाली सरकारले लकडाउन कडाई देखि सबै नाका शिल गर्ने र बाहिरबाट आउने नागरिकलाई नाकाकै क्वारेन्टाईनमा व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्