तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा बर्सेनि जङ्गली हात्ती आतङ्क: छैन रोक्ने भरपर्दो उपाय 

उदयपुर । उदयपुरमा बर्सेनि जङ्गली हात्तीले दुःख दिने गरेको छ। हरेक बर्ष जाडो मौसम सुरु हुनासाथ उदयपुरमा जङ्गली हात्तीले स्थानीयहरूलाई आतङ्कित बनाउने गरेको हाे।

जाडो महिना सुरु हुनासाथ उदयपुरमा हुलका हुल जङ्गली हात्ती आएर स्थानीयका घर भत्काउने देखी धान, मकै, लगायत अन्न खाने र नष्ट गरिदिने, घर टहरा भत्काउने जस्ता घटना घटाउने गरेका छन् । पछिल्लो समय बर्षाको समय सुरु हुन साथ गएको असार देखिनै उदयपुरमा जङ्गली हात्तीले स्थानीयलाई दुख दिँदै आएको छ । गएको असार यता अहिले सम्म उदयपुरको बेलका नगरपालिकामा हात्तीले सात र चौदण्डीगढी नगरपालिकामा छ वटा घटना घटाएका छन् । असार यता मात्र जङ्गली हात्तीले उदयपुरको बेलका र चौदण्डीगढी नगरपालिका मात्र ११ लाख ३ हजार बराबरको धनमाल र बालीनालीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

गए राती मात्र जङ्गली हात्तीले उदयपुरको चौदण्डीगढी नगरपालिका १० का अमृत अधिकारीको घरको टाटी भत्काउनुका साथै धान लगायतका खाद्यान्नमा क्षति पुर्याउदा करिब ५० हजार बराबरको क्षति भएको थियो भने बिहीबार राती चौदण्डीगढी नगरपालिका ९ का पर्शुराम हुजदाराको झन्डै १५ हजार बराबरको धानमा जङ्गली हात्तीले क्षति पुर्याएको थियो । यी त पछिल्ला घटनाको प्रतिबिम्ब मात्र हुन यस्ता घटना बर्सेनि उदयपुरमा घट्ने गरेको तथ्याङ्क उदयपुर प्रहरी सँग छ ।

गएको आर्थिक बर्ष २०८०/०८१ मा उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा १९ वटा घटना घटेका थिए ती घटना बाट १६ लाख बढीको क्षति भएको थियो भने २ जना घाइते भएका थिए । आर्थिक बर्ष २०८१/०८२ मा पनि जङ्गली हात्तीको आतङ्क बाट १५ वटा घटना भएका थिए ती घटना बाट  १६ लाख बढीको क्षति र २ जना घाइते भएका थिए ।

बर्सेनि हुने जङ्गली हात्तीको आतङ्क बाट आजित भएका स्थानीय बासिन्दाले स्थानीय र प्रदेश सरकारतर्फ आँखा ताकिरहेका छन् तर नत स्थानीय सरकार नत प्रदेश सरकार कसैले पनि हात्ती आतङ्क रोक्ने ठोस योजना वा भरपर्दो उपाय ल्याउन सकेको छैन ।२०८० साल फागुनमा तत्कालीन कोशी प्रदेश सरकारले पूर्वको झापा स्थित मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाका बाहुनडाँगीबाट “हात्ती प्रभावित क्षेत्रको पदयात्रा“ सुरु गरेर उदयपुर जिल्लाको कटारी नगरपालिका स्थित बेलसोतमा पुगेर समापन गर्नु बाहेक अहिले सम्म कुनै पनि तहका सरकारले जङ्गली हात्तीको आतङ्क रोक्ने भरपर्दो उपाय ल्याएका छैनन् । उदयपुरका हात्ती पीडितहरूले नत बेलैमा क्षतिपूर्ति पाउन सकेका छन्, नत जीउ धनको सुरक्षा नै पाउन सकेका छन् । जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएका क्षेत्रका स्थानीयहरूले सरकार सँग टर्चलाइट, साइरन र  बिजुली बत्तीको जडान गरिदिए केही राहत मिल्ने महशुस गरेका छन् । हात्तीको बढी आतङ्क हुने क्षेत्रमा हात्ती आतङ्क रोक्न सरकारी तवरबाटै भरपर्दो उपाय सहितको पहलको आवश्यकता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button