तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन कायम गर्ने मुख्यमन्त्री यादवको प्रतिबद्धता

रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा रहेका बेथिति, अव्यवस्था र दीर्घकालीन चुनौतीहरूलाई क्रमशः सुधार गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार गौरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले प्रदेशको वर्तमान अवस्था, सुधारका योजना र आगामी प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री यादवका अनुसार, मधेश प्रदेशमा विकास निर्माणका थुप्रै योजनाहरू रोकिनु, विवादित परियोजनाहरूका कारण जनतामा असन्तुष्टि बढ्नुजस्ता समस्या समाधानका प्राथमिक एजेन्डा हुन् । उहाँले भन्नुभयो, “विभिन्न बेथितिहरू क्रमबद्ध रूपमा व्यवस्थापन गर्दै सुधारको प्रक्रिया अघि बढाउँछु । सुशासन स्थापनामा कुनै सम्झौता हुँदैन । रोकेर बसेका विकास योजनाहरूलाई पुनः गतिमा ल्याइनेछ ।”

उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई सरकारको पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो । प्रदेश सरकार सात दलीय गठबन्धनको साझा सरकार भएकाले निर्णयहरू सहमति, संयोजन र समझदारीका आधारमा हुने उहाँको भनाइ छ । “सात दल एकताबद्ध भएर अघि बढे नयाँ सरकार स्थिरतासहित आगामी निर्वाचनसम्म पुग्नेछ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

पुराना सरकारप्रति टिप्पणी नगर्ने स्पष्ट सङ्केत दिँदै मुख्यमन्त्री यादवले आगामी प्रतिनिधि सभादेखि प्रदेश तथा स्थानीय तहका निर्वाचन र पार्टी महाधिवेशनलाई लक्षित गर्दै पार्टी सङ्गठन मजबुत बनाउने आवश्यकता औँल्याउनुभयो । नेपाली काँग्रेस प्रदेश सभापति समेत रहनुभएका उहाँले काँग्रेस “न जात, न वर्ग, न रङ्गको राजनीति” गर्ने पार्टी भएकोले सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button