तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश डायरी’ प्रसारणका लागि सञ्चारग्राम र मन्त्रालयबीच सम्झौता

विराटनगर । रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम विराटनगरबाट ‘प्रदेश डायरी’ कार्यक्रम प्रसारण हुने भएको छ ।

सो कार्यक्रम प्रसारणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र सञ्चारग्राम विराटनगरबिच आज सम्झौता भएको छ । 

कोशी प्रदेश सरकारका फोकस कार्यक्रमहरू तथा महत्वपूर्ण अभियान, यातायात व्यवस्थापन, कानून निर्माण,  विपद व्यवस्थापन, विकास निर्माणका कार्यहरू, लागु औषध दुर्व्यसनको नियन्त्रण, प्रदेश सरकारका योजना तथा कार्यक्रमहरूको कार्यान्वयनबाट प्राप्त उपलब्धिका विषयमा आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले ‘प्रदेश डायरी’ रेडियो कार्यक्रम प्रसारण गर्न लागिएको मन्त्रालयका उपसचिव उर्मिलादेवी निरौलाले बताउनुभयो ।

मन्त्रालयसँग भएको सम्झौता बमोजिम प्रदेश सरकार र मातहतका निकाय तथा कार्यालयहरूका गतिविधि, जनताको चासो, गुनासो र सार्वजनिक सरोकारका विषय समेटेर कार्यक्रम उत्पादन गरिने रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरका कार्यालय प्रमुख तिलकराम चौधरीले जानकारी दिनुभयो ।

सो कार्यक्रम रेडियो नेपाल सञ्चार ग्राम १०३ मेगाहर्ज विराटनगरबाट प्रत्येक बिहीबार दिउसो ४ः१५ बजे र रेडियो प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट सोही दिन दिउँसो ३ः३० बजे एफ.एम. ९८, १०० र १०३ मेगाहर्जबाट प्रसारण गरिने रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले जानकारी दिनुभयो ।   

सम्झौतामा मन्त्रालयका  तर्फबाट उपसचिव उर्मिलादेवी निरौला र वरिष्ठ शाखा अधिकृत श्याम बहादुर लिम्बु र सञ्चार ग्रामको तर्फबाट कार्यालय प्रमुख तिलकराम चौधरी र  कार्यक्रम अधिकृत नयराज नेपालले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा सञ्चारग्रामका प्रशासकीय अधिकृत रञ्जित रौनियार र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button