महिला हिंसा न्यूनीकरणका लागि सामूहिक सङ्कल्प आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला हिंसा न्यूनीकरणका लागि सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ ।
३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको रंगेलीमा आयोजित किशोरी स्वास्थ्य परामर्श मेलाको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले अधिकांश महिला हिंसाका घटना पुरुषहरूका कारण हुने गरेकाले महिला हिंसा गर्दिन भन्ने सङ्कल्प गर्ने हो भन्ने महिला हिंसा न्यूनीकरण हुने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले महिला हिंसा न्यूनीकरणका लागि तीनै तहको सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले महिला हिंसा न्यूनीकरणका लागि तीनै तहको सरकारले ठोस नीति तथा कार्य योजना बनाएर त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउन थालेको ३४ वर्ष पुग्दा पनि अहिले सम्म समाजमा महिला हिंसा तथा लैङ्गिक विभेदका घटनाहरू नरोकिएकोमा उहाँले चिनता व्यक्त गर्नुभयो । उहाँले दिवसलाई सार्थक बनाउन पनि १२ महिना महिला हिंसा न्यूनीकरण सम्बन्धी अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले समाजमा हुने छोरा र छोरी बीचको विभेद अन्त्य गर्न उनीहरूलाई समान शिक्षा र समान व्यवहार आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोशी प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको लाग्नुपर्नेमा जोड दिनुभयो ।
रंगेली नगरपालिकाका प्रमुख दिलीप वगडियाले महिला हिंसा न्यूनीकरणका लागि पालिका स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनाम तथा रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुलीले महिला हिंसा न्यूनीकरणमा समाजका हरेक वर्ग सजग र सचेत हुनुपर्ने बताउनुभयो ।
किशोरीहरूलाई स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले रंगेली नगरपालिकाको आयोजनामा भएको एक दिने मेलामा नगरपालिकाका विभिन्न विद्यालय, नेपाल प्रहरी तथा नर्सिङ कलेजका २२ वटा स्टलहरू रहेका थिए ।
स्टलहरूबाट विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई स्वास्थ्य सम्बन्धी परामर्शसहित लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा परामर्श प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्