राष्ट्रियसभाका पूर्व सदस्य श्रेष्ठको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभाका पूर्व सदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्व अध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी काँग्रेस चितवनकी पूर्व सदस्यसमेत रहनुभएकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय श्रेष्ठले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, श्रेष्ठको निधनप्रति काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्