संक्रमण पुष्टि भएसँगै दुबै बस्तीमा सिल
भक्तपुर । संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोक स्थित बस्तीमा आज प्रहरीले सिल गरेको हो ।
करिब २० घर रहेको उक्त बस्तीलाई शिल गरेर नेपाल प्रहरीको सुरक्षा गस्ती खटाईएको प्रहरीले जनाएको छ । सिल गरेको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन ।
भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सङ्क्रमित शसस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरि शसस्त्र प्रहरीले सुरक्षा दिईरहेको छ । उहाँको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाएको छ ।
भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा यहाँ आएर बसेकी थिइन् । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।
संक्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखीएको छ । दुबैको परिवार र सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्