तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा सीमावासीसँग सशस्त्र प्रहरीले बढायो सहकार्य

बैतडी। भारतसँग सिमाना जोडिएको बैतडीमा सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकसँग सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । 

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सम्बन्ध विस्तार गर्न विभिन्न कार्यक्रमको आयोजना भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो ।

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा न-१ स्थित भूमिराज आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यसै गरी शिवनाथ गाउँपालिका वडा न-१ का २९ जना विपन्न, एक महिला र ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । 

यस्तै यही मंसिर १९ र २० गते शिवनाथ गाउँपालिकाको शर्मालीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

सीमा क्षेत्रका नागरिकसँगको सम्बन्धले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, तस्करी नियन्त्रण र सीमा क्षेत्रको सुरक्षामा सहयोग पुग्ने गुल्मपति कुँवरको भनाइ छ । 

भारतसँग सीमा जोडिएको बैतडीमा सशस्त्र प्रहरीका तीनओटा बिओपी सञ्चालनमा रहेका छन् । झुलाघाट, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा सशस्त्र प्रहरीका बिओपी सञ्चालनमा रहेका छन् । 

सीमा क्षेत्रका नागरिकसँगको सम्बन्ध बढाउन सशस्त्र प्रहरीले गरिरहेको काम निकै सराहनीय रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

सीमा क्षेत्रमा रहेका बिओपीले स्थानीय नागरिकलाई फाइदा पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button