तपाईँ सुन्दै हुनुहुन्छः

२५औँ आहा रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने

पोखरा। देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण आगामी माघ २७ गतेदेखि पोखरामा हुने भएको छ ।

पोखरा रङ्गशालामा आउँदो फागुन ९ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आयोजक सहारा क्लब पोखराले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगिताको मिति अखिल नेपाल फुटबल सङ्घले दिएका आधारमा आफूहरूले तयारी समेत सुरु गरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । प्रतियोगिताका संरक्षकमा पोखरा महानगरपालिका तथा सहयोगी संस्थाको रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी लगायतका रहेका छन्।

आहा रारा गोल्डकपमा ए डिभिजन, विभागीय, आयोजक तथा अन्तर्राष्ट्रिय क्लब गरी १० टिमको सहभागिता रहने भएको छ । रजत वर्ष विशेष भएकाले यस पटक पोखरा महानगरसँग भगिनी–सम्बन्ध भएका विभिन्न देशका शहरका टिमलाई समेत निम्त्याउने सम्भावनाबारे छलफल भइरहेको अध्यक्ष थापाले बताउनुभयो । “आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित बालकका लागि निरन्तर चल्दै आएको सहयोग अभियान हो,” उहाँले भन्नुभयो, “यो वर्ष पनि सबैको सहयोग र सहकार्यका लागि अनुरोध गर्दछौँ।”

मुख्य प्रायोजक हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले आफ्ना स्वर्गीय बुवासँग गोल्डकपको आत्मीय सम्बन्ध रहेकाले प्रायोजनको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका–९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखराको नाम बेचेर स्वार्थ पूर्ति गर्ने प्रवृत्तिको आलोचना गर्दै गोल्डकपजस्ता प्रतिष्ठित कार्यक्रमले पोखराको पहिचान र गौरव बढाएको दाबी गर्नुभयो । महासचिव गंगाराज पौडेलले रजत वर्षको गोल्डकप भव्य रूपमा सफल बनाउन तयारी सुरु गरिएको बताउनुभयो ।

सहारा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको च्यारिटी डिनर नाइटबाट १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत गर्न सफल भएको बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । उक्त कार्यक्रमबाट २४ लाख १९ हजार १ सय ७७ रुपैया आम्दानी भएको उहाँले जनाउनु भयो । कार्यक्रम सम्पन्न गर्न ६ लाख ७७ हजार ५ सय ५१ रुपैया खर्च भएको क्लबले जनाएको छ । अध्यक्ष थापाका अनुसार सो रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकको शिक्षादिक्षा तथा हेरचाहमा खर्च गरिनेछ। हाल एकेडेमी सञ्चालनमा वार्षिक करिब ४२ लाख खर्च हुने र क्लबद्वारा स्थापना गरिएको अक्षयकोषमा ३ करोड ४७ लाख रुपैयाँ रहेको उहाँले जनाकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button