तपाईँ सुन्दै हुनुहुन्छः

टाल्न नपाउँदै भत्किन्छ चन्द्रनिगाहपुर-बागमती महेन्द्र राजमार्ग 

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरदेखि बागमतीसम्मको सडक अवस्था पछिल्लो समय अत्यन्त नाजुक बन्दै गएको छ । 

बारम्बार खाल्डाखुल्डी देखापर्ने र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले टालटुले मर्मत गर्दै जाने क्रम रोकिएको छैन । एकातिर खाल्डा पुर्ने काम भइरहेको छ भने अर्कोतिर नयाँ–नयाँ स्थानमा सडक भत्किँदै जाँदा सवारी–साधन आवतजावत पूर्ण रूपमा जोखिमपूर्ण बन्दै गएको स्थानीयहरूले बताउनुभएको छ ।

स्थानीय राजु तिवारीका अनुसार यो सडक खण्डमा आएको समस्या कुनै नयाँ होइन। वर्षेनी सडक उक्किने, भत्किने र पुनः टालटुले शैलीमा मर्मत हुने क्रम निरन्तर दोहोरिँदै आएको छ । तर, स्थायी समाधान खोज्ने, गुणस्तरीय मर्मत गर्ने र सडक बिग्रने अवस्थालाई रोक्ने किसिमको दीर्घकालीन योजना नहुँदा समस्या झन् जटिल बन्दै तिवारीको भनाइ रहेको छ ।

गुणस्तरीय सामग्री प्रयोग नगरी हतार–हतार गरिएको काम र प्राविधिक मानकअनुसार मर्मत नहुँदा सडकको अवस्था वर्षैभरि जीर्ण नै रहने गरेको स्थानीय रामकुमार कटुवालको आरोप छ ।  

धनसरदेखि बागमतीसम्मको करिब दुई दर्जन स्थानमा गहिरा खाल्डाखुल्डी बनेका छन् । सडक धसिनु, ग्राभेल र डामर उप्किनु, लेन अवरुद्ध हुनुजस्ता समस्या बढ्दै गएपछि सवारी चालकहरूले दिन–रात दुवै समयमा यात्रा गर्न डर मान्ने गरेका छन् । 

विशेषगरी मोटरसाइकल र स्कुटर चालकका लागि यो सडक अत्यन्तै खतरनाक बन्दै गएको छ । राति उज्यालो अभाव र खाल्डा स्पष्ट नदेखिने कारण दुर्घटनाको जोखिम दोब्बर भएको चन्द्रनिगाहपुरका  स्थानीय खडक बहादुर बमजनले बताउनुभयो ।

अर्का स्थानीय सवारी चालक रङ्ग तिमल्सिनाले सडक डिभिजन कार्यालयको लापरवाही नै समस्याको मुख्य कारण भएको आरोप लगाउनुभयो ।

“सडक एक तिरबाट टालिन्छ, केही समयमै फेरि अर्को तिर भत्किन्छ । गुणस्तरहीन कामका कारण हरेक वर्ष यही समस्या दोहोरिन्छ । टालटुले मर्मत गर्दा केही दिन चल्छ, अनि फेरि उस्तै हालत हुनेगरेको,” तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार अस्थायी मर्मतले सडक नचल्ने होइन, तर दिगो समाधान खोज्ने मनसाय नभएकै कारण सवारी चालक र यात्रुले नियमित रुपमा दुःख भोग्नुपरेको छ । यता, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भने वर्षायामको प्रभाव, बढ्दो ट्राफिक चाप, भारी सवारी साधनका कारण सडक दबिने, फाट्ने र क्षति हुने समस्या बढेको बताउँदै आएको छ । 

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी शिव नारायण प्रसाद साहका अनुसार विशाल निर्माण सेवा सर्लाही बरहथवाले यस वर्ष रि–करेन्ट गरिरहेको बताउनुभयो । सो निर्माण सेवाले गुणस्तरहीन काम गरिरहेको गुनासो आएको र आजबाट निगरानी बढाइने उहाँले बताउनुभयो । विशाल निर्माण सेवाले कतिमा टेण्डर लिएको र कति काम गर्ने विषयमा सूचना अधिकारी साह डाटा समेत दिन मान्नुभएन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button