‘आठे’को महामारीमा मृतकलाई जलाउने ठाँउ समेत भएन

दोलखा । कृष्णप्रसाद चौलागाईको उमेर अहिले ९३ वर्षको भयो । भजन, र्कितन, खैजेडी र गायनमा रमाउने कृष्णप्रसाद एक दुई वर्ष अघिसम्म गाँउ घरमा हुने पुजा पर्वमा मात्र हैन सदरमुकाम चरिकोटबाट प्रशारण हुने रेडियोको स्टुडियोमै पुगेर पनि गाउने र रमाउने गर्नुहुन्थ्यो ।
केहि महिना देखि भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुको आफ्नो घरमै रहनु भएका भजन प्रविणको उपनामले परिचित कृष्णप्रसादलाई स्वास्थ्यमा केहि समस्या भएर हिडडुलमा कठिनाई हुन थालेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न अहिले आफ्नै घरमा लक डाउनमा रहनु भएका कृष्णप्रसाद आफ्नो जीवन कालको यो भन्दा अघिल्ला वर्षहरुमा यस्तो महामारी भोग्नु नपरेको बताउनु हुन्छ ।
यो शताब्दिकै जटिल र ठूलो महामारी हो, भजन प्रविण जेष्ठ नागरिक कृष्णप्रसादले भन्नु भयो – मैले मेरो जीवनको अघिल्ला वर्षहरुमा यस्तो महामारी न भोग्नु पर्यो, न सुन्नु नै प¥यो । तर आफु सानै हुदा १९७५ सालतिर ‘आठे’ नामको महामारीले धेरैको ज्यान गएको कुरा बुबाको मुखबाट सुनेको कृष्णप्रसादले बताउनु भयो ।
हाम्रो यहि जिलुमा ‘आठे’का कारण एउटा टोलमा ४÷५ जनाका दरले मानिसको मृत्यु भएको बुबाले सुनाउनु भएको चौलागाईको सम्झनामा छ । जिलुमा रहेको फस्मे, डिहि, सुपलुङ्गा, मोहोरीया, पिप्ले, कोले, घोगेडे, किस्नरे, कल्सरे, बगैचा, सापकोटा, निबोडी, भट्मासे, गोर्वधन, सार्किस्वारा, गैरागाँउ जस्ता टोलहरुमा गरी मुश्किलले एक सय घर पनि थिएनन् कृष्णप्रसादले भन्नु भयो – तर ‘आठे’का कारण झण्डै ७०/८० जनाको ज्यान गएको थियो रे ।
‘आठे’कै कारण बाजे गंगाधर चौलागाईको समेत ७५ वर्षको उमेरमा मृत्यु भएको कुरा बुबा (धनेश्वर चौलागाई) बाट आफुले सुनेको उहाँले बताउनु भयो । ‘आठे’ महामारीले आफ्नो अभिभावक नै लगेपछि बुबाले निक्कै पीडाबोधका साथ त्यतिबेलाको विपत्ति आफुलाई सुनाएको कृष्णप्रसादको भनाई छ ।
‘आठे’ रोग लागेपछि रुघा खोकी लाग्ने, जरो आउने र आठ दिनमै मानिसको मृत्यु हुने गरेको कृष्णप्रसादले बुबा धनेश्वरबाट सुन्नु भएको हो । त्यतिबेला ‘आठे’ रोगले मानिसको मृत्यु हुन थालेपछि जलाउन सम्भव नभएर नजिकैको खोला खाल्सीमा लगेर गाड्नु परेको इतिहास आफुले बुबाबाट सुन्दा त्यो बालमनमै आफुलाई स्वास्थ्य प्रति सचेत र सर्तक बन्न सिकाएको कृष्णप्रसाद उपदेशकै भावमा बताउछन् ।
यर्थाथ पनि उहाँले भनेजस्तै छ, ९३ वर्षको उमेरसम्म पनि खासै औषधि नखाएका कृष्णप्रसाद अहिलेपनि चस्मा नलगाई दैनिक महाभारत र रामायण पाठ गर्नुहुन्छ । खानामा दैनिक एक दुई टुक्रा मासुको सोख राख्नुहुने उहाँ कतै निस्कनु हुदा दैनिक आईरन लगाएर दौरा सुरुवाल र कोट मा सजिने कान्छा छोरा बद्री चौलागाई बताउनु हुन्छ ।
सन् १९१८ मा विश्वभरी पाँच करोडको ज्यान लिने स्पेनिश फ्लुलाई नै त्यतिबेला नेपालमा ‘आठे’ भनिएको हुनसक्ने कृष्णप्रसादका छोरा सर्व माध्यामीक विद्यालय जिलुका प्रधानाध्यापक विश्वमणी चौलागाई बताउनु हुन्छ ।
अहिलेको कोरोना भाईसरको महामारीमा जस्तै त्यतिबेला ‘आठे’ (स्पेनिश फ्लू) बाट बच्न पनि मानिसलाई घरमै बस्न, माक्स लाउन, सावुन पानीले नाक, मुख सफा गर्न, भिडभाडमा नजान अनुरोध गरिएको कुरा आफुले बुबा तथा आफन्तहरुबाट सुनेको कृष्णप्रसाद बताउनु हुन्छ ।
त्यतिबेला विश्वमा ‘आठे’ (स्पेनिश फ्लू) को महामारी फैलदा औषधि विज्ञान र प्रविधिमा विकास भएको थिएन र त्यतिधेरै मानिसको मृत्यु भयो तर अहिले यतिधेरै विकास भएको बेलामा समेत यो कोरोनाले विश्वभरी मानिस मरेको मरै गर्नु दुःखद छ – कृष्णप्रसाद भन्नु हुन्छ । औषधि नभएको यो महामारीबाट बच्न सबैजना घरमैै बसौ, हुलमुलमा नजाऔ, साबुन पानीले हात धुऔ र आफ्नो स्वास्थ्यको सधै ख्याल गरौ – उहाँले भन्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्