१५ दिन पछि खुल्यो नगरपालिकाको ताल्चा
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता माग गर्दै गरेको तालाबन्दी १५ दिनपछि खुलेको छ ।
नगरप्रमुख अजय प्रकाश जैसवालले समस्या समाधानमा चासो नदेखाउनुभएको आरोप लगाउँदै नौ वटै वडा अध्यक्ष र नगर कार्यपालिका सदस्यहरूले संयुक्त दबाब सिर्जना गर्नुभएको थियो । तलब निकासा सुनिश्चित गर्ने सर्तमा ताला खोलिएको वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, नगरप्रमुखले माग सम्बोधनमा ढिलाइ गर्नुभएकाले सबै वडाका जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपरेको हो ।नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तलब–भत्ता निकासाको सुनिश्चितता नभएसम्म मेयरले बोलाउने कुनै पनि बैठकका प्रस्तावमा हस्ताक्षर नगर्ने सहमति वडा अध्यक्ष र सदस्यबीच भएको बताउनुभयो । हाल सो पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।
नगरप्रमुख अजय प्रकाश जयसवाल प्रमुख प्रशासकीय अधिकृतको लागि मन्त्रालय धाइरहेको बताउनुभएको छ । नगर प्रमुख जसबालले भन्नुभयो अबको तीन चार दिनभित्रमा प्रमुख प्रशासकीय अधिकृत ल्याई तलब भत्ता निकासा गरी पालिकाको सेवा चुस्तदुरुस्त बनाउनेछु ।दुई सातासम्म तालाबन्दीका कारण नागरिकता सिफारिस, सामाजिक सुविधा, राजस्व सङ्कलनलगायत अत्यावश्यक सेवा अवरुद्ध भएका थिए । ताला खुलेपछि सबै सेवा पुनः सुचारु भएको नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्