विदेश पठाउने नाममा ठगी गर्दै आएका बाँकेका विशाल जैसवाल पक्राउ
बाँके। बाँके प्रहरीले युवाहरूलाई विदेश पठाउने नाममा ठगी गर्दै आएका नेपालगञ्ज–१९ सुर्जि गाउँका २७ वर्षीय विशाल जैसवाललाई पक्राउ गरेको छ। उनले ‘हाई ड्रीम ओभरसिज नेपाल इमिग्रेशन प्रा.लि.’ नामक कम्पनीमार्फत ठगी गर्दै आएको अनुसन्धानमा खुलेको हो।
प्रहरीका अनुसार जैसवालले बाँके, सल्यानलगायत स्थानका युवाहरूसँग “विदेश पठाइदिन्छु” भन्दै लाखौँ रुपैयाँ असुलेका थिए। उनले सहयोगी घनश्याम गुप्तासँग मिलेर नक्कली भिसा बनाउने र पीडितलाई भारतसम्म लगेर अलपत्र पार्ने गरेको पाइएको छ।
नेपालगञ्जका इन्सान अलीले मलेसिया पठाइदिन्छु भन्दै ३ लाख १० हजार रुपैयाँ लिई भारतको कलकत्तासम्म लगेर फिर्ता पठाएको बताए। त्यस्तै, बैजनाथका दिलबहादुर छत्याल मगरले अल्बानिया पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ लिएको र पछि भिसा नक्कली रहेको थाहा भएको बताए।
दिपा अधिकारीका अनुसार, गत चैत्रमा उनका श्रीमानलाई हंगेरी पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको तर न विदेश पठाएको न पैसा फिर्ता दिएको र पछि धम्कीसमेत दिएको बताइन्।
सल्यानका अन्य दुई पीडित पनि न्याय खोज्दै नेपालगञ्ज आएका छन्। उनीहरूले छोराहरूलाई ग्रिस पठाउने भन्दै १२ लाख रुपैयाँ बुझाए पनि नक्कली भिसा र टिकट दिएर घर फर्काएको आरोप लगाएका छन्।
प्रहरीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। अन्य सम्भावित संलग्न व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
यसैबीच, नेपालगञ्ज क्षेत्रमा दर्ता बिना सञ्चालनमा रहेका दुई दर्जनभन्दा बढी अवैध म्यानपावर कम्पनीहरूको गतिविधि पनि प्रहरीले निगरानीमा राखेको छ। पीडितहरूले गृहमन्त्री ओमप्रकाश आर्याललाई अवैध म्यानपावर कम्पनीहरू बन्द गरी ठगहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्