तपाईँ सुन्दै हुनुहुन्छः

चार हजारभन्दा बढी लाभार्थीलाई सामाजिक सुरक्षा भत्ता वितरण

बाँके। डुडुवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार नागरिकलाई सहजता प्रदान गर्न बैंकका कर्मचारीहरू गाउँमै पुगेर भत्ता वितरण गरिरहेका छन्। प्राविधिक र बैंकिङ समस्या भएकाले घरघरमै पुगेर वितरण गर्न कठिनाइ भएपछि, विकल्पस्वरूप बैंकका प्रतिनिधिलाई गाउँमै बोलाएर वितरण प्रक्रिया अघि बढाइएको हो।

सूचना प्रविधि अधिकृत सुरेश बर्माका अनुसार वडा नं. १, २, ५ र ६ का नागरिकलाई आफ्नै वडा कार्यालयबाट र वडा नं. ३ र ४ का नागरिकलाई गाउँपालिका कार्यालयमार्फत भत्ता वितरण भइरहेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योति विकास बैंकमार्फत रकम वितरण गरिएको छ।

गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीका अनुसार डुडुवाका १ देखि ६ वटै वडाका करिब ४ हजार १७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित, पूर्ण अपांगता भएका व्यक्ति र पाँच वर्षमुनिका दलित बालबालिकालाई सरकारले तोकेको दरअनुसार रकम प्रदान गरिँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button