गोरखामा पानीले धानवालीमा ठूलो क्षति, तथ्याङ्क संकलन सुरु
गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानहरूको क्षति भएको धानवालीको तथ्याङ्क सङ्कलन सुरु गरेको छ ।

विगत ६ दिनदेखि परेको अविरल वर्षातका कारण हुडीफाँट, निवेल, उल्टे लगायतका स्थानमा लगाइएको धानवालीमा नोक्सान परेको थियो । तिहारको आसपासमा काटिएका धान थन्क्याउन नपाउँदै बारीमा नै उम्रिएपछि किसानहरूलाई थोरै भए पनि राहत पुगोस् भनेर स्थलगत रूपमा अनुगमन गरी तथ्याङ्क सङ्कलन गरिएको कार्यालयपालिका सदस्य जीत बहादुर नेपालीले बताउनुभयो ।
कृषि प्राविधिक सन्तोष ढकाल, वडा र पालिकाका जनप्रतिनिधि र सम्बन्धित किसानहरू सहितको टोलीले क्षतिको मूल्याङ्कन गरिरहेका छन् । आएको तथ्याङ्कका आधारमा कम्तीमा बिउ मात्रै भए पनि पालिकाबाट अनुदान दिने गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

आफूले लगाएको खेतीको कृषि बिमा गर्न पटक पटक अनुरोध गर्दा पनि थोरै मात्र किसानहरूले बिमा गरेका छन् । समयमै बिमा गरेको भए आज बिमा दाबी गर्न पाइन्थ्यो, पालिकाले किसानहरूका लागि निःशुल्क कृषि बिमाको कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्