मालिका गाउँपालिकाले दुई हजार सात सय बढी बिपन्नलाई काम दिने

गुल्मी । मालिका गाउँपालिका–६ अर्जेका थम्मन बस्नेत बिहान १०ः०० बजे काममा निस्केपछि दिनभर वडाले लगाएको काम गरेर घर फर्किनुहुन्छ । बस्नेतको समुहमा १० जना हुनुहुन्छ । उहाँहरुले दैनिक मुख्य सडकको नाली बनाउने, पोखरी सफा गर्ने, घाडेटो बाटो बनाउने लगायतका काम गरिरहनुभएको छ ।
मालिका गाउँपालिकाले अहिले विपन्नलाई राहतको सट्टा काम दिएको छ । बस्नेतले ज्याला मजदुरी गरेर सात जनाको परिवार पाल्नुभएके छ ।
लकडाउनले गाउँमा काम गर्ने सबै विकल्प रोकिए । जसले बिहान–बेलुकाको गुजारा चलाउनै मुस्किल पर्यो । गाउँपालिकाले वितरण गरेको ३० किलो चामल र तीन किलो दाल महिनौ चल्ने कुरै भएन् । ‘काम गर्ने मान्छेले काम पाएपछि पैसा वा खाद्यान्य जे दिए पनि गुजरामा समस्या भएन,’बस्नेतले भन्नुभयो,‘बरु गाउँपालिकाले सधै काम दिए हुन्थ्यो ।’
मालिका गाउँपालिकाका ८ वटै वडामा गरेर दुई हजार सात सय ३५ जनाले अहिले काम पाएका छन् ।
वडा नं ६ अर्जेमा मात्रै दुई सय १० जनाले विभिन्न काम गर्दै आएका छन् । सबै जनालाई १०÷१० जनाको समुहमा परिचालन गरेर काम भइरहेको र सर्वदलिय संयन्त्रमार्फत कामको मुल्यांकन भएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताउनुभयो ।
मालिका गाउँपालिकाले पहिलो चरणमा राहत वितरण गरेका अति विपन्न छ सय ९० र बिपन्न दुई हजार ४५ गरेर दुई हजार सात सय ३५ परिवारलाई ‘एक घर एक काम’ को व्यवस्था गरिएको गिरीले जानकारी दिनुभयो ।
गाउँपालिकाले एक परिवारले तीन दिन काम गर्नुपर्ने मापदण्ड बनाएको छ । काम गरे बापत ३० किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमकै मापदण्ड अनुसारको पारिश्रमिकले तीन दिन काम गरे गाउँपालिकाले वितरण गर्ने खाद्यान्नको लागत बराबर हुन आउँछ ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कामनै गर्नुपर्ने भएपछि गैर बिपन्नहरुले राहतको आशा नगर्ने र पैसा सट्टा खाद्यान्न दिएपछि परिवारमा सबैले खान पाउने भएकाले काम बापत खाद्यान्न उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख रित बहादुर थापाले राहतको बिषयमा गैर बिपन्नले जनप्रतिनिधीलाई अनेक दबाद दिएकाले अहिले काम गरेपछि मात्रै राहत दिने निर्णय गर्न बाध्य भएको बताउनुभयो ।
‘राहत नपाएपछि कैयन गैर बिपन्नले जनप्रतिनिधीसँग झगडा गरे, घरमै बसेर पाइने भएकाले स्वभाविक धेरैमा आशा बढ्यो,’उहाँले भन्नुभयो, ‘यो निर्णयले ठगेर राहत माग्नेहरुपछि हटेका छन्, वास्तविक विपन्न काममा छन् ।’ लकडाउन बढ्दै जाँदा विपन्नहरुको रोजिरोटी पनि संकट देखिने र राहत वितरण गरिरहँदा गाउँपालिकालाई पनि आर्थिक व्यवस्थापनको चुनौती रहेको गाउँपालिका प्रमुख थापाले बताउनुभयो ।
अब काम दिने भएकाले वडा/वडाका सडक, पोखरी, तथा घोडेटा बाटाहरु मर्मत पनि हुने र बिपन्नहरुको गुजरा पनि चल्ने थापाको भनाई छ ।
जेष्ठ नागरिक र अपांगहरुको हकमा भने काम गर्नुपर्ने बाध्यता छैन् ।








प्रतिक्रिया राख्नुहोस्