तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिनदेखिको लगातार वर्षाबाट किसान चिन्तित

बारा । तीन दिनदेखिको लगातार वर्षाले बाराका किसान चिन्तित बनेका छन् । धान भित्र्याउने तयारीमा रहेका बेला परेको यो बेमौसमी वर्षाले खेतका पाकेका बालीहरू पानीमा डुबाउँदै किसानहरूलाई चिन्तित बनाएको छ । 

विशेष गरी जिल्लाको उत्तरी भू–भागमा रहेका खेतहरूमा पानी जम्दा काट्न तयार भएका धान सड्ने अवस्थामा पुगेका छन् । किसानहरूको भनाइमा, खेतमा जमेको पानीका कारण उत्पादनमा ठुलो कमी आउने देखिन्छ । 

“धान काट्ने समयमै यस्तो वर्षा पर्‍यो कि मान्छे खोजेर पनि पाइनन्, ट्र्याक्टरले काटिएका धान पनि खेतमै भिजेर बिग्रिँदै छन्,” जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ रामनगरका एक स्थानीय किसानको गुनासो छ । बाराका कोल्हवी, निजगढ, जीतपुरसिमरा र करैयामाई क्षेत्रका किसानहरू विशेष प्रभावित भएका छन् । धानसँगै अन्य मौसमी तरकारी र बालीहरू पनि पानीले असर पारेका छन् । 

तर सबैका लागि वर्षा नोक्सानदायी भएको छैन । तोरी र मकै खेती गर्ने किसानका लागि यो वर्षा वरदान सावित भएको छ । खेत भिजेकाले अब छर्ने तयारी तीव्र बनेको छ । यसैगरी, पशुपालनमा संलग्न किसानका लागि पनि वर्षाले राहत दिएको छ । लामो समयदेखि सुख्खा माटोका कारण घाँस छर्ने समस्या समाधान भएको छ । अहिले खेत भिजेपछि किसानहरूले नयाँ घाँसका बीउ छर्ने काम सुरु गरेका छन् । यसपटकको असामयिक वर्षाले धान भित्र्याउने किसानलाई घाटा र तोरी–मकै लगाउने किसानलाई फाइदा दुवै स्थिति सँगै ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button