बेमौसमी वर्षाले पर्सा जिल्लाका किसानहरू मारमा
'तोरी र सुर्ती खेतीमा ठूलो क्षति'
वीरगञ्ज। बुधवार बेलुका देखि परेको अविरल बेमौसमी वर्षाले पर्सा जिल्लाका किसानहरू मारमा परेका छन्।

लगातार परेको वर्षाले किसानहरूले लगाएका हिउँदे बाली विशेषगरी तोरी र सुर्ती खेतीमा ठूलो क्षति पुर्याएको छ ।
ठोरी गाउँपालिका वडा नम्बर–४, बिजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यो क्षेत्रमा किसानहरूको मुख्य नगदेबाली सुर्ती हो, तर हालैको लगातार वर्षाले सुर्ती बालीलाई सखापै बनाइदिएको छ । “असोज २०-२१ गतेको वर्षाले बिरुवा नष्ट भयो, अहिले बल्ल राम्ररी उब्जिने आशामा रोपेको सुर्ती पनि यो वर्षाले पूरै बिगार्यो,” किसान श्रेष्ठले बताउनुभयो । सुर्तीबाली नष्ट भएपछि किसानहरूले वैकल्पिक रूपमा गहुँ खेती गर्न बीउको जोहो गर्न थालेका छन् । तर सिँचाइको अभावले त्यसमा पनि कठिनाइ हुने देखिएको किसानहरूको गुनासो छ ।

यस्तै, ठोरी गाउँपालिका वडा नम्बर–५, सुवर्णपुरका किसानहरू पनि वर्षाबाट गम्भीर प्रभावित भएका छन् । वडाध्यक्ष अष्ठबहादुर लोप्चनका अनुसार सुवर्णपुरमा हरेक वर्ष करिब ६ सय बिघा जमिनमा तोरी खेती हुने गर्दछ, तर यसपालिको बेमौसमी वर्षाले सबै बाली नष्ट गरेको छ ।
“किसानहरूले खेत दुई पटक जोतेर मल हाली तोरी छरेका थिए, तर उम्रिन नपाउँदै बाली सखाप भयो,” वडाध्यक्ष लोप्चनले बताउनुभयो । उहाँका अनुसार अब तोरी पुनः छर्ने समयमा ढिलाइ भइसकेकाले किसानहरूले गहुँ वा मकै वैकल्पिक बालीका रूपमा लगाउने तयारी गरेका छन् ।
तर त्यसका लागि किसानहरूलाई पुनः बीउ, मल र मेशिन खर्च दोहोरो हुने वडाध्यक्ष लोप्चनले बताउनुभयो । तोरी र सुर्तीका साथै किसानहरूले लगाएका राजमा, आलु, काउली, बन्दा, लसुन, मूला, भन्टा लगायतका हिउँदे तरकारी बालीहरू पनि वर्षाबाट नराम्रोसँग प्रभावित भएका छन् ।

उता, खेतमा पाकिसकेका धानबाली भित्र्याउन पनि किसानहरूलाई कठिनाइ भएको छ । निरन्तर वर्षाका कारण खेतमा पानी जम्दा धान काट्न र सङ्कलन गर्न नसकिएको किसानहरूको गुनासो छ । स्थानीय किसानहरूले सरकार र सम्बन्धित निकायसँग तत्काल क्षतिको मूल्याङ्कन गरी राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्