तपाईँ सुन्दै हुनुहुन्छः

विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको सीमा नाकामा संयुक्त गस्ती

भद्रपुर, झापा । झापासँग सीमाना जोडिएको भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त रुपमा गस्ती गर्न थालेका छन् । विधानसभा निर्वाचनसँगै सीमामा असुरक्षा, लागूऔषधको बेचबिखन, ओसारपसार र चोरी तस्करी बढेपछि दुवै तर्फका सुरक्षा संयन्त्रबाट संयुक्त गस्ती थालिएको हो ।

झापाको सदरमुकाम भद्रपुर र भारतको गलगलियाको सीमा नाकामा पर्ने पिलरहरू आसपासमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डिएसपी दयाराम पौडेल, बिहार पुलिसका सब–इन्स्पेक्टर राकेश कुमार, सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारबाट केतन सालुङ्गेसहितको संयुक्त टोलीले गस्ती गरेको हो । गस्तीपछि दुवै पक्षबीच बोर्डर सुरक्षा सम्बन्धी छलफल पनि भएको छ । 

त्यस्तै हिजो बिहान प्रहरी चौकी मेचीपारिबाट प्रहरी सहायक निरीक्षक आमासुलाल राजवंशी, सशस्त्र प्रहरी बल बाहिनी २ नम्बर गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोतीलाल कर्माचार्य, सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारबाट सब–इन्स्पेक्टर वैजनाथ सरकटासहितको १४ जनाको संयुक्त गस्ती टोलीले भद्रपुर ३ मा रहेको सीमा क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button