तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्मीपूजा सम्पन्न भएसँगै मधेसमा छठ पर्वको तयारी सुरु

वीरगंज। दीपावलीको मुख्य आकर्षक लक्ष्मीपूजा सम्पन्न भएसँगै बीरगंज लगायत तराई मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ । 

बारा, पर्सा, रौतहट लगायत भोजपुरा संस्कृतिको केन्द्रको रूपमा रहेको वीरगन्जमा दीपावलीसँगै छठ पर्व  उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ । वीरगंजमा दीपावली अर्थात् लक्ष्मीपूजा भव्य रूपमा मनाइएको र दीपावली सकिएसँगै छठ पर्वको तयारीमा सर्वसाधारण जुटेका छन् । 

दीपावलीमा तराई मधेसमा लक्ष्मी पूजा पछि छठ पर्वको तयारी हुने गर्दछ । आज बिहानै देखी बीरगंजको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका पूजा सामग्री दियो,पाला, आदि बेच्नेहरूको  भिड लागेको छ । लक्ष्मी पुजापछि अहिले बीरगंज महानगरपालिका सहित स्थानीय पालिकाहरू, विभिन्न सामाजिक सङ्घ संस्थाहरूले छठ घाटको सरसफाइ र शृङ्गारको काम सुरु गरी सकेका छन् । 

छठ पर्वका लागि वीरगन्जको सबैभन्दा ठुलो तथा प्रसिद्ध घाट घडिअर्वा पोखरी परिसरलाई पनि सजाउने काम धमाधम भइरहेको छ । घडिअर्वा पोखरी सँगै वीरगंजको रानीघाट, छपकैया, मुर्ली, नगवा, लक्ष्मणवा, राधेमाई टोलमा रहेका  दुई दर्जनभन्दा बढी छठ घाटहरु सजाउने काम तिव्र रूपमा भइरहेको छ ।

तराई मधेसमा दीपावली र छठ पर्वलाई विशेष रूपमा मान्ने चलन रहेको बताउँदै बीरगंज महानगरपालिका वडा नम्बर-१६ निवासी शम्भु थापाले  वीरगन्ज लक्ष्मीको नगरी र मुलुककै आर्थिक राजधानी मानिने भएकाले पनि यहाँ दीपावली पर्व भव्य रूपमा मनाइने र त्यसपछि छठको तयारीमा स्थानीय जुट्ने गरेको बताउनुभयो । 

तिहार र छठ दुवै पर्वले समग्र तराई मधेसकै अर्थतन्त्रलाई चलायमान समेत बनाएका छन् । यी पर्वमा पूजा सामग्री देखि लिएर नयाँ कपडा, जुत्ता, बास तथा माटाका सामान, फलफूलको विक्री वितरण तिव्र रूपमा हुने गर्दछ । 

यसैबिच छठ पर्वको तयारीका लागि आज वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहितको टोलीले  महानगर भित्रका विभिन्न धार्मिक स्थल एवं छठ घाटको स्थलगत  अनुगमन र अवलोकन गरेको छ । नगर प्रमुख सिंहले वीरगंज महानगरपालिकाको विभिन्न वडामा रहेका छठ घाटहरूको स्थलगत अवलोकन गरी सरसफाइ र तयारीका सम्बन्धमा थप जानकारी लिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button