तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार निर्माणमा ढिलाइ, मेलौली मन्दिरको सौन्दर्य प्रभावित

बैतडी। बैतडीको मेलौली भगवती मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन्। समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो। 

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन् । निर्माण सुरु भएको ४ वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत  पनि काम सम्पन्न भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५५ प्रतिशत र मेलौली नगरपालिकाको ४५ प्रतिशत लगानीमा योजना अघि बढ्ने समझदारी भएको थियो। जसअन्तर्गत मन्त्रालयले ४ करोड ५५ लाख र नगरपालिकाले २ करोड ४५ लाख बजेट सुनिश्चित गरिएको थियो। 

आर्थिक वर्ष २०७७/०७८ सालमा कूल ७ करोडमा ठेक्का खोलिएकोमा गौरा कन्स्ट्रक्सनले साढे ३ करोडमा ठेक्का सम्झौता गरेको थियो। हालसम्म निर्माण कम्पनीले एक करोड बजेट भुक्तानी पाइसकेको छ। तर ५० प्रतिशत  पनि काम नभएको नगरपालिकाको योजना शाखाले जनाएको छ।  

सम्झौता अनुसार छ वटा गेटहरू, २ वटा पार्कसहितको पोखरी, १३४ रोपनी क्षेत्रमा घेरा पर्खाल लगाउने र देवन्वालोदेखि मन्दिरसम्म पिसिसि बाटो निर्माण गर्ने योजना थियो। सो अनुसार देवन्वालोदेखि मन्दिरसम्मको पिसिसि बाटो बाहेक अन्य कुनै  पनि काम सम्पन्न हुन नसकेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले जानकारी दिनुभयो । यस क्षेत्रको महत्वसँग जोडिएको यस मन्दिर व्यवस्थापनका लागि आएको बजेटलाई पालिकाले चासो दिनुपर्ने नायकले  बताउनुभयो ।   

मेलौली भगवती मन्दिर देशका उत्कृष्ट एक सय पर्यटन गन्तव्यको सूचीमा परेको धार्मिक क्षेत्र हो। यस मन्दिर परिसरमा आवश्यक पूर्वाधार निर्माणका लागि पालिकासँगको संयुक्त साझेदारीमा योजना अघि बढाउन मन्त्रालयले ५५ प्रतिशत बजेट सुनिश्चित गरेको थियो। 

मेलौली नगरपालिकाका अनुसार मन्त्रालयले सुनिश्चित गरेको बजेट निकासा नगर्दा योजना समयमा सम्पन्न हुन नसकेको जनाएको छ। एक पटक मात्रै करिब ४० लाख बजेट मन्त्रालयले पठाएको र नगरपालिकाबाट बाँकी रकम गरी एक करोडभन्दा बढी निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको नगरपालिकाका योजना शाखा प्रमुख भुवन बागले जानकारी दिनुभयो। यहाँबाट कार्यसम्पादन भएका योजनाको सबै विवरणहरू पटक पटक पेश गरेको भए पनि मन्त्रालयले बजेट नपठाएपछि योजनामा ढिलाइ भएको उहाँले बताउनुभयो ।  

मेलौलीका नगर प्रमुख भीम बहादुर चन्दले मन्त्रालयले बजेट नपठाएकै हुनाले योजना समयमा सम्पन्न हुन नसकेको दाबी गर्नुभयो । चालु आर्थिक वर्षमा  पनि नगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो। मन्त्रालयमा  पनि हालसम्मको कार्यसम्पादन विवरण पेश गरिने नगर प्रमुख चन्दले बताउनुभयो । हाल निर्माण भइरहेका योजनाहरू सम्पन्न नहुँदा मेलौलीको सौन्दर्ययता मासिन पुगेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button