तपाईँ सुन्दै हुनुहुन्छः

बारामा हैजा रोगको महामारी विरुद्ध खोप अभियान सञ्चालन हुने  

बारा I बारामा हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान, २०८२ अन्तरगत ६ वटा पालिकामा  शुरु हुने भएको छ । 

जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिको प्रमुख नरेन्द्र सहको सभापतित्वमा बसेको बैठकले बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा असोज २७ गतेदेखि कार्तिक २ गतेसम्म अभियानको रूपमा खोप सञ्चालन गर्ने निर्णय गरेको हो।

अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्णलाई शतप्रतिशत खोप लगाइनेछ । खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ र अभियानको दैनिक प्रतिवेदन स्थानीय तहले स्वास्थ्य कार्यालयलाई बुझाउनु पर्नेछ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले हैजाविरुद्धको खोप जीवन उपयोगी भएकोले कुनै दुविधा नमानी खोप लिन जोड दिए भने जनस्वास्थ्य कार्यालय बाराका निमित्त कार्यालय प्रमुख राम नरेश यादवले खोपको प्रभावकारिता बारे जानकारी गराएका थिए।

कार्यक्रममा  सशस्त्र प्रहरीका एसपी खुम केसी , पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदीले समुदायमा खोप सम्बन्धी जनचेतना फैलाउन कुरामा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button