शुलभ र आयुषको सम्झनामा नेपालगञ्जमा गेट र सडक निर्माण हुने
बाँके। जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका नेपालगञ्जका शुलभ श्रेष्ठ र आयुष थापाको नाममा गेट र सडक निर्माण गरिने भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१ ले धम्बोझी प्रहरी गुल्मबाट वाटरपार्कतर्फ जाने बाटोलाई ‘शुलभ मार्ग’ नामाकरण गरी त्यसै स्थानमा ‘शुलभ गेट’ निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै, खजुरारोडस्थित शिव मन्दिरदेखि विशालनगर चोकसम्मको बाटोलाई ‘आयुष मार्ग’ नाम दिँदै विशाल चोकमा ‘आयुष गेट’ बनाइने वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए।
“यी नामहरू केवल साइनबोर्डमा सीमित हुने छैनन्, यी नामहरू न्यायका लागि आवाज उठाउने प्रत्येक युवाको मनमा बाँचिरहनेछन्,” वडाध्यक्ष रिजालले भने।
गत भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी शुलभ र आयुषको मृत्यु भएको थियो। दुवै वडानं १ का स्थायी बासिन्दा रहेका उनीहरू ‘नयाँ पुस्ताको प्रतीक’ बनेका थिए।
उनीहरूले स्वतन्त्र सोच्ने र आवाज नदबिने समाजको सपना देखेका थिए। आन्दोलनका क्रममा ज्यान गुमाए पनि उनीहरूको आत्मा र विद्रोहको आवाज अझै जीवित रहेको स्थानीयहरू बताउँछन्।
गेट र सडक निर्माणको निर्णयलाई स्थानीय युवाहरूले ‘एक पुस्ताको सम्मान’का रूपमा लिएका छन्। उनीहरूका अनुसार, जब कसैले ‘शुलभ मार्ग’ हुँदै हिँड्नेछ वा ‘आयुष गेट’ पार गर्नेछ, त्यो हरेक पाइला स्वतन्त्रता र न्यायका लागि आवाज उठाउनेहरूको सम्झनामा हुनेछ।








प्रतिक्रिया राख्नुहोस्