प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन
पर्वत।गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् ।
जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लगाइएका यी सडक छ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् ।
रु २८ करोड १३ लाखमा काम सुरु भएको मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।
दश किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।
सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।
यसैगरी, रु ११ करोड २२ लाख ६६ हजारमा निर्माण सम्झौता भएको लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक पनि चार वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडकखण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो ।
पटकपटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उहाँको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले बताउनुभयो ।
निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफलडाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उहाँको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्