तपाईँ सुन्दै हुनुहुन्छः

तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । दसैँको अवसर पारेर यसपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज फूलपातीको दिनदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका हुन् । 

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको जनाइएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको उक्त चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूत लगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्माता रोहित अधिकारीले नाम उही, गीत पनि उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहने गरी चलचित्र तयार गरिएको बताउनुभयो । 

चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रको पर्दामा ल्याउनुभएको हो । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेख्नुभएको हो । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्र ‘बलिदान’ निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको छ । यसमा अभिनेता समीर भट्टको अभिनय छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापा लगायत कलाकारले अभिनय गर्नुभएको छ ।

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा आकर्षण बढ्दो छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button