सूचना प्रविधिको प्रयोग गरी पठनपाठन गर्न समस्या

सल्यान । कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरु नयाँ शैक्षिक सत्र कहिलेदेखि सञ्चालन गर्ने अन्यौल छाएको छ ।
विद्यार्थी भर्ना भएर पठनपाठन सुरु हुने समय भइसक्दा पनि भर्ना अभियान कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा सरकार नै अन्यौलमा परेको छ ।
विषम परिस्थितिमा सूचना प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने चर्चा पनि हुन थालेको छ ।
तर सल्यान जस्ता ग्रामिण तथा दुर्गम ठाउँमा सूचना प्रविधिको प्रयोग गरी पठनपाठन गर्न निकै चुनौती देखिएको छ ।
भौगोलिक विकटता, बिजुली इन्टरनेटको सुविधाको पहुँच सबै ठाउँमा नहुँदा सूचना प्रविधिको प्रयोगबाट पठपाठन गर्न समस्या हुने शिवजन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनुभयो ।
‘भर्चुअल कक्षाका लागि इन्टरनेट, मोबाइल, ल्यापटप, बिजुली आवश्यक पर्वाधार हुन । तर सल्यानमा झन्डै ८० प्रतिशतको पहुँच बाहिर छ’ उहाँले भन्नुभयो । ‘२४सै घण्टा बिजुली, इन्टरनेट हाम्रो जस्तो पहाडी जिल्लामा सम्भव छैन । अभिभावक र स्वयम शिक्षक पनि यस विषयमा पहिले जानकार हुन आवश्यक छ ’। उहाँले भन्नुभयो ।
प्रविधि प्रयोगमा पछि रहेकाहरुलाई कसरी दक्ष बनाउने ? प्रविधि भएर मात्र भएन त्यसको प्रयोग गर्न जान्ने पनि हुनुपर्छ नेपालीले बताउनुभयो ।
अनलाइनको भन्दा सबै ठाउँमा राम्रोसँग फोनले काम नगर्ने भएकाले सूचना प्रविधिको माध्यमिबाट कक्षा सञ्चालन सहज नभएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिकाको केन्द्रमै मोवाइल फोनले राम्रोसँग काम गर्दै भने कहाँबाट इन्टरनेट चलाउनु र कक्षा सञ्चालन गर्नु ।’
गाउँपालिकाका पाँच हजार दुई सय घरधुरी मध्ये ७५ घरधुरीमा मात्र टेलिभिजन रहेको उहाँले बताउनुभयो ।
आधारभुत सूचनाको रुपमा रहेको फोन नै सबै ठाउँमा नभएकाले भर्चुअल कक्षा तथा रेडियो टेलिभिजनबाट कक्षा सञ्चालन गर्न समस्या रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बतउनुभयो ।
समय अनुसारको प्रविधि उपयुक्त भएपनि भौगोलिक कठिनाई र पहुँचका कारण यो सिकाई उपयुक्त नहुने उहाँको भनाई छ ।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.पूर्णबहादुर भण्डारीको भनाई भने अलि फरक छ । हरेक चिज भित्र चाहाना र बहाना दुई पक्ष हुने भएकाले बहाना भन्दा चाहना राख्नु पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्