तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय झण्डा ओढेर कार्यालय जलाउनेहरूमाथि कारबाही हुने प्रजिअ जोशीको चेतावनी

बाँके। जेनजी आन्दोलनको नाममा राष्ट्रिय झण्डा ओढेर अदालत, सरकारी गाडी र कार्यालय जलाउने तथा लुटपाट गर्नेहरूमाथि कठोर कारबाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले चेतावनी दिएका छन्।

उनीहरूले राष्ट्रिय झण्डाको दुरुपयोग गरी अपराध गरेका भन्दै प्रजिअ जोशीले दोषीलाई कुनै हालतमा नछाडिने स्पष्ट पारे। “राष्ट्रिय झण्डा हाम्रो गौरव हो। यसको ओट लाएर अपराध गर्नेहरूलाई कडाभन्दा कडा कानुनी दायरामा ल्याइन्छ,” उनले भने।

उनका अनुसार हालै आगजनी गर्नेहरूमध्ये कतिपय अहिले सरकारी कार्यालयमै सहयोग गर्न आएका छन् भन्ने जानकारी प्रशासनले पाएको छ। घटनामा संलग्नहरूको पहिचान हुँदै गएको र प्रमाण संकलन भइरहेको उनले बताए।

आन्दोलनको आडमा भएको आगजनी र लुटपाटले नागरिक त्रसित भएको र सरकारी सेवामा अवरोध आएपछि दैनिक जीवन कठिन बनेको स्थानीयहरूले बताएका छन्। जिल्ला अदालत बाँकेमा तारिख लिन आएका रामकुमार शाहीले भने, “न्यायको केन्द्र अदालत जल्दा हृदय नै जल्यो। अपराधीलाई कारबाही नभएसम्म घाउ निको हुँदैन।”

प्रजिअ जोशीले अपराधीलाई द्रुत प्रक्रियामार्फत पक्राउ गरी उदाहरणीय सजाय दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button