तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका शहिद परिवारसँग मेयर सिंहको भेटघाट

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगन्ज–१२ मुर्लीका युवक असाहब आलमको घरमा गएर वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उहाँका परिवारजन सँग भेटघाट गर्नुभएको छ । 

आज बिहान मुर्लीस्थित आलमको घरमा पुग्नुभएका मेयर सिंहले शहिद आलमका काका एकबाल ठाकुराई,दाई राजाबाबु ठाकुराई लगायत परिवारका अन्य सदस्यहरूसँग भेट्नु भएको हो । त्यसक्रममा मेयर सिंहले कलकलाउँदो उमेरमै ज्यान गुमाएका आलमको निधनले शोक र पिडामा रहेको परिवारको साथमा आफु रहेको बताउनुभयो । 

शहिद आलमका परिवारको अवस्थाबारे परिवारजन र आफन्तहरू सँग जानकारी लिँदै मेयर सिंहले आलमको भाईको पढाइका बारेमा पनि चासो देखाउनुभयो । उहाँले आलमका भाईको अध्ययनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

आलमको परिवारलाई भेट्न मेयर सिंह उहाँको घरमा पुग्दा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद,स्थानीय समाजसेवी मदन गुप्ता, युवा राजु गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

दुई महिनाअघि मात्रै वैवाहिक बन्धनमा बाँधिनुभएका आलमले भदौ २४ गते काठमाडौँमा भएको जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए । आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका थिए ।

भदौ २४ गते जेनजीको प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको थियो । वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थापन सङ्कायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौँ गएका थिए । त्यहाँ उनले पठाओ राइडरकोपनि काम गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button