तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी–कोल्टी सडक ४ महिना देखि अवरुद्ध, स्याउ ढुवानीमा समस्या

बाजुरा। बाजुराको पुर्वोत्तरी क्षेत्रमा रहेका स्याउ हाल सम्म पनि ठुला बजारमा पुग्न नसक्दा किसानहरू चिन्तामा परेका छन्।

प्रायः किसानहरूको मुख्य आम्दानीको स्रोत बनेको स्याउ बजारसम्म पुर्‍याउन नसक्दा हरेक वर्षजस्तै यस वर्ष पनि कृषकहरूलाई बजारीकरणको समस्याले पिरोलेको हो।

करिब ४ महिना देखि अवरुद्ध बनेको मार्तडी कोल्टी सडक खुल्न नसक्दा स्याउ ढुवानी गरेर जिल्ला बाहिर निर्यात गर्न नसकिएको कृषकहरूको गुनासो छ। वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मर्मत कार्य नहुँदा किसानहरूले बारीमै स्याउ कुहिने हो कि भन्ने त्रास लिएका छन्।

पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराका अनुसार यो वर्ष स्याउ राम्रो उत्पादन भएको भए पनि सडक बन्द हुँदा कुनै वर्ष जस्तै यस पटक पनि बारीमै कुहिने हुन् कि भन्ने चिन्ता थपिएको छ। सरकारले बाटो बनाइदिनुपर्छ, बजार देखाइदिनुपर्छ, आत्मनिर्भर बन्न हामी मेहनत गर्छौँ। तर बर्सेनि बाटो नै ठुलो पिरलो हुन्छ,” बोहराको भनाइ छ।

त्यस्तै पाण्डुसैनकी अर्का स्याउ स्याउ कृषक तोप्धिन थापाले आम्दानीको मुख्य स्रोत बजार सम्म नपुगेपछि परिवारको खर्च जोहो गर्न कठिनाइ भएको बताउनुभयो। “आम्दानी यही स्याउ थियो, अब बालबालिकालाई कापी–कलमदेखि खानासम्म कसरी जोहो गर्ने”पिठ्युँमा बोकेर मार्तडी बजारमा थोरै थोरै बिक्री गर्नु बाहेक अरू विकल्प किसानहरू सँग नरहेको उहाँको दुखेसो छ।

यता, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसि सहानीका अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कृषकको बारीबाटै अनुदानमा जिल्ला बाहिरका ठुला सहरमा वैकल्पिक बाटो प्रयोग गरेर भए पनि पुर्‍याउने प्रक्रिया सुरु भएकाले केही दिन भित्रै  स्याउ ढुवानी गरिने बताउनुभयो ।

बाजुरामा करिब १सय७० हेक्टर क्षेत्रफलमा हरेक वर्ष करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button