तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा जिल्ला अदालतको सेवा प्रवाह सुचारु 

वीरगञ्ज । जेन–जी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको घटनापछि बन्द भएको पर्सा जिल्ला अदालतको सेवा प्रवाह सुचारु भएको छ ।

विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रवाहबारे अदालतले जारी गरेको नयाँ सूचना अनुसार अदालतको भदौ २९ गतेको निर्णयअनुसार, अदालतमा उपस्थित हुन नसकेका पक्षहरूलाई म्याद तथा तारिख थाम्न ३० दिनको समय दिने व्यवस्था गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२५ र सर्वोच्च अदालतको आदेशको आधारमा अदालतले व्यवस्था गरेको हो । कर्फ्यु तथा निषेधाज्ञा हटेसँगै आवतजावत सहज बनेपछि अदालतको कामकाज नियमित रूपमा सञ्चालनमा आएको अदालतले जनाएको छ ।

यस्तै, नियमित पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ विजयादशमी बिदापछि मात्र सुचारु हुने अदालतका स्रेस्तादार प्रभाकर कुमार मल्लिकले जानकारी दिनुभयो । 

जेन–जी प्रदर्शनको क्रममा काठमाडौँस्थित सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीका कारण जिल्ला अदालतको काम समेत प्रभावित भएको हो । आइतबारदेखि सर्वोच्च अदालतको काम पनि आंशिक रूपमा सुचारु भए पनि सर्वोच्च अदालतको वेभ साइड (अनलाइन) प्रणाली अझै पनि सुचारु हुन नसकेका कारण जिल्ला अदालतको कामहरू पनि पूर्ण रूपले सुचारु हुन नसकेको मल्लिकले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button