तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ बसपार्कबाट तीन सयभन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कबाट ३ सयभन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

 ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३ सयभन्दा बढी सवारीसाधन बाहिरिएका हुन् । 

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३ सयभन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिनुभयो ।

“यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्य स्थलतर्फ जान थालेका छन्”, उहाँले भन्नुभयो । आज बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उहाँको भनाइ छ ।

उहाँले दसैँसमेत सुरु हुन लागेकाले नयाँ बसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताउनुभयो । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button