क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ ।
रामशाहपथस्थित मन्त्रालयको चार तले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।
मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थानान्तरण गर्ने कार्य सम्भव नै भएन ।”
सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रूपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराउनुभयो । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उहाँका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थानान्तरण गर्ने विचार गरिएको छ ।
मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्य मन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताउनुभयो । “हामी कर्मचारीहरू त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । “इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ”, डा देवकोटाले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्